अमेरिकामा छायांकन गरिएको सिनेमा ‘हिउँको गीत’को पोस्टर सार्वजनिक


काठमाडौं । अमेरिकाको ओहायो राज्यको क्लिभल्याण्ड सहरको सुविधा सम्पन्न स्टुडियोमा खिचिएको सिनेमा ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक सिनेमाको मोसन पोस्टरमा वर्षा राउत, जोयश पाण्डेय, पुजा चन्द, आकाश खतिवडा, इशिर कर्माचार्य फिचर्ड छन् ।

जोयश पाण्डेयसँगको संयुक्त लेखनमा निर्माण भएको सिनेमालाई विमल सुवेदीले निर्देशन गरेका हुन् । नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको सिनेमाले भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक-फरक पुस्ताको सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत गरेको छ ।

एक परिवार तर फरक पुस्ता, परिवेश र अनुभव बोकेका सदस्यमार्फत् सिनेमाले समग्र नेपालीभाषी भुटानीको आफ्नै देशबाट लखेटिनु अघि सरकारबाट योजनाबद्ध बर्बर यातनादेखि लखेटिएपछि नेपालको शरणार्थी शिविरबाट अमेरिका आइसकेपछि परिवारका सदस्यमा देखिने संरचनात्मक र मनोवैज्ञानिक असरलाई सिनेमाको कथामा समेटिएको निर्माण टिमले बताएको छ ।

सिनेमामा वर्षा, जोयश, पूजा, आकाश, इशिर कर्मचार्य, थोमस किथ स्कट, केदार उप्रेती, आरबी खड्का, अर्जुन रसाइली, समीर रेग्मी, आयुष भट्टराई, नवीन खनाल, जोशिका रामदाम लगायतको अभिनय रहेको छ । सिनेमामा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका सिनेमाकर्मीले काम गरेका छन् । सिनेमालाई चिनइन गाउले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरिरहेका छन् ।

आयुषा सञ्जेल सहायक निर्देशक रहेको सिनेमामा दिकेश खड्गी शाहीको ध्वनि रेकर्ड तथा सम्पादन, देउकुमार राई नेतृत्वसमूहको कला निर्देशन, शंकर बिसी, विक्रम मोहन र कौशिला खनाल कर्मचार्यको नृत्य निर्देशन रहेको छ । कौशिला खनाल कर्मचार्य, आरबी खड्का, डम्बर नेपाली, प्रतिमा श्रेष्ठको शब्द तथा कालिप्रसाद बास्कोटा, मदन गोपाल, डम्बर नेपाली, अर्जुन रसाइलीको संगीत तथा गायन रहेको छ ।

सिनेमामा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरे निर्माता र आकाश खतिवडा, जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खना कर्माचार्य, मनोरथ खनाल कार्यकारी निर्माता तथा एसोसियट निर्मातामा मधुकर कर्माचार्य, पुन्य कुइँकेल, राकेश भट्टराई र रमेश लुइँटेल छन् ।