गायक। अभिनेता तथा निर्देशक प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार फागु पूर्णिमा होलीको अवसरमा सिनेमाका मुख्य दुई कलाकार गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड पोस्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरमा कलेज जाँदै गरेका प्रकास र स्वतिमा बाटोमा प्रेमील भावमा प्रस्तुत छन् । सिनेमाको पोस्टर सार्वजनिक गर्दै निर्देशक तथा अभिनेता सपुतले लेखेका छन्, ‘जसरी प्रकृतिका विभिन्न रंङहरु समेटेर बसन्त ऋतु आएको छ । त्यसरी नै समाजका विभिन्न रङहरु समेटेर सिनेमा ‘वसन्त’ तयार भएको छ । ती रंङहरु मध्ये सबै भन्दा सुन्दर रङ हो प्रेमको रङ । ‘वसन्त’ एउटा सुन्दर प्रेमको रङले बनेको छ । बसन्त ऋतुमा फुल्ने लालीगुँरास जस्तै रंगीन पर्व फागु पर्वको शुभकामना ।’
चैत्र २२ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।