चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक


काठमाडौं। नेपाली चलचित्र ‘होस्टेल ३’ को ट्रेलर शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी फागुन २३ गते रिलिज हुने तयारीमा छ ।

चलचित्रको ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गर्छ । शाहिल खानले सम्पादन गरेको ट्रेलरले जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ । यसमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका मुख्य पात्रको जीवनका झलक देख्न सकिन्छ । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ प्रतिपक्षी भूमिकामा देखिएका छन् ।

चलचित्रको निर्देशन सशान कँडेलले गरेका छन्, जो दुई दशकदेखि सङ्गीत तथा म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।

अर्जुन तिवारीको छायाङ्कन निर्देशन रहेको चलचित्रलाई सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसीको एक्सन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ ।