आठौं ग्लोबल नेपाली फिल्म अवार्ड अगस्ट ९ मा अमेरिकाको कोलोराडोमा


काठमाडौँ । आगामी अगस्ट ९ तारिखका दिन अमेरिकाको कोलोराडोस्थित बोल्डरमा ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ हुने भएको छ । आइतबार नेपालको राजधानी काठमाडौंमा आयोजित विशेष समारोहका बीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करणको मिति घोषणा गरिएको हो ।

नेपाल सरकार बागमती प्रदेशका मन्त्री मधुकुमार श्रेष्ठ र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष उपस्थितिमा गत सेप्टेम्बर १५ मा न्यूयोर्कमा सम्पन्न सातौं संस्करणको औपचारिक समापन र आठौं संस्करणको मिति घोषणा गरिएको हो ।

ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्ष नवराज श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै ८ औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ कार्यक्रमको घोषणा गरेका हुन् ।

उक्त कार्यक्रम नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा सम्पन्न भएको थियो । ‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुन लागेको ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगतदेखिनै आयोजना हुँदै आएको कार्यक्रमको निरन्तरता भएको नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष मल्लले बताए । संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य अवार्डको रहेको उनले बताए ।

आठौं संस्करणको अवार्ड घोषणा कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीसहित वरिष्ठ कलाकारहरु हरिहर शर्मा, शम्भुजीत बास्कोटा, शोभित उप्रेती, जानकी पन्त, निरज शर्मा, मोहन निरौला, जनक दीप पराजुली, बसन्त श्रेष्ठ, भुवन चन्द, बसुन्धरा भुसाल, डा. राजेन्द्र केसी, तीर्थ थापा, दिपेन्द्र गौचन, मदनदाश श्रेष्ठ, राधेश्याम लेकाली, सुनिल थापा, गौरीशंकर ध्वजू, राजेन्द्र खड्गी, प्रदीप उदय, प्रशान्त ताम्राकार, डा. भीमार्जुन आचार्य, अशोक शर्मा लगायतको उपस्थिति थियो । अवार्डका अघिल्ला ७ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.