काठमाडौं । अभिनेत्री दिव्या रायमाझी सिनेमा ‘माया प्रीति’ को मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । उनको डेव्यु सिनेमा ‘एक्टरः टेक वान’ अहिले नेपालभरका सिनेमा घरमा चलिरहेको छ । डेव्यु सिनेमामा उनले गरेको अभिनयले तारिफ पाएपछि उनी नयाँ सिनेमा ‘माया प्रीति’को मुख्य भूमिकामा अनुबन्धित भएकी हुन् ।
यो सिनेमाका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रियटिभ निर्देशक प्रणव जोशीले बुधवार दिव्यासँग लिखित रुपमा कागजी सम्झौता गरेका हुन् । यो रोमान्टिक कमेडी सिनेमालाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । डेव्यु निर्देशक श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ ।
सिनेमामा अनुबन्ध भएपछि रायमाझीले आफू नेपाली सिनेमाको संस्कारमा हुर्किएको भएकाले राम्रो स्क्रिप्ट छनोट गर्न सजिलो भएको बताइन् । ‘माया प्रीति’को कथा आफूले खोजे जस्तै भएको उनको दाबी छ ।
वन टू थ्री स्टुडियोज प्रालिको ब्यानरमा निर्माण हुने सिनेमामा अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहनेछिन् । यो सिनेमाको छायांकन चाँडै सुरु हुने तयारीमा छ । अन्य कलाकारहरूको घोषणा क्रमशः गरिने बताइएको छ ।