काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको आगामी फिल्म ‘इमर्जेन्सी’को विवाद टुंगिएको छैन । धेरै विवादपछि फिल्मले भारतीय सेन्सर बोर्डबाट सर्टिफिकेट पाएपछि फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।
रिलिजको दुई दिनअघि बंगलादेशले फिल्मलाई प्रतिबन्ध लगाएको छ । मिडिया विवरणमा जनाइएअनुसार, भारत र बंगलादेशबीच जारी तनावपूर्ण अवस्थाका कारण यो निर्णय लिइएको हो ।
एएनआईले फिल्म निकट स्रोतलाई उध्दृत गर्दै जनाएअनुसार ढाकाले प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ । बंगलादेशको पुरानो सत्ता हटेपछिको परिस्थितीमा अहिले दुई छिमेकी मुलुक बंगलादेश र भारतबीच सम्बन्ध तनावपूर्ण छ । यो प्रतिबन्ध फिल्मको कथावस्तु कम र दुई देशबीचको राजनीतिक सम्बन्धको कारणले बढी हो ।
बंगलादेशमा फिल्म प्रतिबन्धको एउटा कारण यो हो कि फिल्ममा स्वतन्त्रता सेनानी र बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको हत्यालाई चित्रण गरिएको छ, जसलाई बंगलादेशका पिता भनिन्छ ।
बंगलादेश र पाकिस्तानको विभाजनमा उनको महत्वपूर्ण भूमिका थियो । फिल्ममा उनको हत्या बंगलादेशी चरमपन्थीहरुको समूहले गरेको देखाइएको छ, जसका कारण बंगलादेशमा यसको रिलिज प्रभावित भएको छ ।
यो फिल्म पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको कार्यकाल र सन् १९७५ मा लगाइएको आपतकालिन अवस्थाको बारेमा बनेको हो । फिल्ममा कंगना रनौतले इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन् ।