चलचित्र ‘कार्साङ’ले ६ दिनमा गर्यो १ करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन


काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा १ करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

सुरुका दिनमा केही कम दर्शक देखिए पनि विस्तारै यो सिनेमामा दर्शकको संख्या बढ्दै गएको वितरक कम्पनी आरआर फिल्मसले जनाएको छ । माघ १ गतेबाट हलमा दर्शकको चाप बढ्दै जाँदा आकर्षक ग्रसकलेक्सन हुँदै आएको छ ।

बुधबार पनि सिनेमाले राम्रो कलेक्सन गरेको वितरकको भनाइ छ । चलचित्र ‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेका छन् ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

सिनेमाका कलाकार अहिले प्रचारका क्रममा पूर्वी नेपालमा छन् । हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् ।