‘सतीदेवी’ ७ भदौमा प्रदर्शन हुने


काठमाडौं। दिलासा कृएसन प्रालिको ब्यानरमा निर्माण भएको नेपाली कथानक सामाजिक चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । चलचित्रको निर्माण संस्थाले जारी गरेको विज्ञप्तीमा भनिएको छ- ‘हामीले यो चलचित्र साउन ४ गतेदेखि देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिरहेको सर्वविदितै छ । केही प्राविधिक कारणले गर्दा हामीले उक्त मितिमा नभइ पहिला झैँ कुनै चलचित्र,निर्मातालाई असर नपर्ने गरि ‘सतीदेवी’ नयाँ मिति ७ भदौमा प्रदर्शन गर्ने निर्णय गरेका छौं ।

यो मितिमा कुनै पनि स्वेदशी तथा विदेशी चलचित्रसमेत नल्याउनु हुन सम्पूर्ण वितरक, निर्माता तथा सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं । चलचित्र ‘सतीदेवी’ को नयाँ प्रदर्शन मितिसँगै नयाँ पोस्टर (थर्ड लुक्स) समेत यहाँहरु समक्ष प्रस्तुत गरेका छौं ।’ लक्ष्मण सुवेदीद्वारा निर्देशित यो फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

सिनेमाको कथा मुख्य पात्र ‘सतीदेवी’ अर्थात मलिकाको वरपर घुम्छ । छोरी भएर पनि छोरासरह उभिएर परिवारलाई जोगाउन खोजेको कथा फिल्ममा देख्न सकिन्छ । पछिल्लो समय महिलाको मुख्य भूमिका रहेको सिनेमा बजार भित्रिन थालेको छ । ‘सतीदेवी’ नारीप्रधान विषयमा बनेको एउटा सशक्त सिनेमा बनेको छ ।

सिनेमाले दक्षिण एसियाली सौराहा फिल्म फेस्टिभल र सेलिब्रेटी नेपालले आयोजना गरेको ग्रामीण फिल्म फेस्टिभलमा अवार्ड जिती सकेको छ । सिनेमामा मलिका संगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.