विकास बोर्डको २४ औं बार्षिकोत्सव मनाइयो, नयाँ लोगो सार्वजनिक


काठमाडौँ । चलचित्र विकास बोर्डको २४ औं बार्षिकोत्सव कार्यक्रमसम्पन्न भएको छ । आइतबार बेलुकी चलचित्र विकास बोर्डको हलमा भव्य कार्यक्रमको आयोजना गर्दै बार्षिकोत्सवको मनाईएको हो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाललाई विश्वभर चिनाउने प्रभावकारी माध्यम फिल्म नै रहेको बताइन् । उनले, फिल्मलाई आम संचारको सशक्त माध्यमको रुपमा व्याख्या गरिन् । साथै, उनले चलचित्र ऐनलाई चाडो भन्दा चाडो पास गर्ने प्रतिबद्धता पनि व्यक्ति गरिन् । उनले, आफू र आफ्नो मन्त्रालय सधै फिल्म क्षेत्रसँग रहेको बताएकी थिइन् ।

स्थापना भएको २३ वर्षपछि चलचित्र विकास बोर्डको लोगो निर्माण गरिएको छ । आइतबार बोर्डको २४औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गरेकी हुन् ।

लोगोसंगै बोर्डले ‘बुद्धको ज्ञान सगरमाथाको सान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ आफ्नो नारा पनि तय गरेको छ । चलचित्र ऐन २०२६ को १० (क) अनुसार २०५७ असार १६ गते बोर्डको स्थापना भएको थियो । यस अघिसम्म बोर्डले नेपाल सरकारको लोगो प्रयोग गर्ने गरेको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डको आगामी कार्ययोजनाको बिषयमा पनि जानकारी गराइएको थियो । चलचित्र विकास बोर्डले सिंगल थिएटरहरुको उन्नतीका लागि काम गर्ने र बजेट छुट्याउने बताएको छ ।

कार्यक्रममा बोर्डमा बर्षभरी मिहिनेत गरेका कर्मचारीहरुलाई समेत सम्मान गरियो । साथै, चलचित्र विकास बोर्डले आयोजना गरेको ‘छोटो फिल्म प्रतिस्पर्धा’का विजेतालाई समेत पुरस्कार प्रदान गरियो । ‘सर्ट फिल्म कम्पिटिसन’मा ‘अनाहद’ प्रथम, ‘सिलावाल’ दोस्रो र ‘म कमरेड’ तेस्रो भएका थिए ।

कार्यक्रममा विकास बोर्डले बार्षिक रुपमा प्रकाशन गर्दै आएको ‘चलचित्र मञ्च’ पुस्तक पनि सार्वजनिक गरिएको थियो । यस्तै, चलचित्र विकास बोर्डले महिला चलचित्रकर्मीहरुको अभिलेख समेत राख्न सुरु गरेको बताएको छ । चलचित्र विकास बोर्डले हरेक बर्षको असार १६ गतेलाई ‘बार्षिकोत्सव’को रुपमा मनाउँदै आएको छ । गत बर्षहरुको भन्दा यो बर्षको कार्यक्रम भब्य र व्यवस्थित रुपमा सम्पन्न भएको छ।