‘मनसरा’ निर्माण टिम कविता कन्सर्टमा


काठमाडौँ। बैशाख २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘मनसरा’ निर्माण टिम अहिले सिनेमाको तीव्र प्रचारमा लागेको छ । यो सिनेमाको निर्माण टिमले अन्य सिनेमाको भन्दा केही फरक ढंगले प्रचार प्रसार गरिरहेको छ ।

सिनेमाको निर्माण टिमले यसअघि पोखरा र बुटवलमा कविता कन्सर्ट गरेर अहिले पूर्वी नेपाल पुगेको छ । पूर्वी नेपालको बिर्तामोडबाट सुरु भएको कविता कन्सर्ट इटहरी पुगेर सकिनेछ । बुधबार बिर्तामोडको क्युएफएक्स हलमा सिनेमाको निर्माण टिमले कविता कन्सर्ट आयोजना गरेको थियो ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाले बिर्तामोडमा आधा-दर्जन भन्दाबढी कविता सुनाएका थिए । कार्यक्रममा अभिनेत्री मिरुना मगरले आफ्नो आमाले रचना गरेका कविता सुनाएकी थिइन् । सिनेमाका कलाकारहरु मेनुका प्रधान, प्रवीण खतिवडा र जिवन बरालले कवि सुब्बाले लेख्नुभएका कविता वाचन गरेका थिए ।

बिर्तामोडस्थित क्युएफएक्स हलमा भएको कन्सर्टमा प्राज्ञ मुनराज शर्मा, बरिष्ठ गितकार शिवशंकर थापा, अग्रज पत्रकार तथा साहित्यकार केशव आचार्य, कवि विराट, कवि तथा गजलकार अभागी थेगवा लगायत एकसय भन्दाबढी साहित्य अनुरागीहरुको सहभागिता थियो । कविता कन्सर्ट कार्यक्रममा निर्देशक सुब्बा तथा कलाकारहरुले ‘मनसरा’लाई हेरेर प्रतिक्रिया दिन आग्रह गरेका थिए ।

बुधबार १२ गते विर्तामोड र उर्लाबारीमा कविता कन्सर्ट गरेको ‘मनसरा’ टिमले १३ गते दमक र धरानमा कविता वाचन गर्नेछ । १४ गते इटहरी र बेलबारीमा पनि कविता कन्सर्ट गर्नेछ ।

सिनेमामा दया, मिरुना, प्रविण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.