(सेलिब्रेटी नेपाल) ४ फागुन-वरिष्ठ चलचित्र निर्देशक तथा गीतकार यादव खरेलले चलचित्र उद्योगलाई अगाडि बढाउने विषयमा सरकारले भोटे ताल्चा लगाएर चलिचित्रलाई बन्धक बनाएको बताएका छन्। शनिबार राजधानीमा सम्पन्न नेपाल चलचित्र निर्माता संघको १३औं साधारण सभाको शुभारम्भ गर्दै निर्देशक खरेलले चलचित्रसम्बधी व्यवस्थित नीतिलाई सरकारले अहिलेसम्म पनि लागु नगरेकाले चलाचित्र उद्योगको अथाह सम्भावना खुल्न नपाएको बताएका हुन्।
‘नेपाली चलचित्र उद्योगमा विदेशी लगानी भित्रिन सकेको छैन अनि नेपालले बाहिरी मुलुकमा लगानी गर्न पाएको छैनु, निर्देशक खरेलले भने– ‘विश्व कहाँ पुगिसक्यो हामीलाई भने सरकारले २०२६ सालकै नियमअनुसार नै चल भन्दैछ।’ खरेलले नेपालमा दर्जनौं हलिउड फिल्महरू सुटिङ हुने गरे पनि यसको बारेमा कसैलाई पत्तो नभएको र चलचित्रसम्बन्धी धेरै कामहरू भए तापनि नीतिको अभावले व्यवस्थित तवरबाट अगाडि बढ्न नसकेको बताए। हालै सरकारसमक्ष पेस गरेको चलचित्र नीतिको मस्यौदालाई सरकारले प्राथामिकता दिने वित्तिकै सबै कुराको हल हुने खरेलले बताए। सबै कुरा नीतिमै अल्झेको उनको तर्क छ।
त्यसै गरी अर्का निर्देशक नीर शाहले नेपाली फिल्मले व्यापार गरेकोमध्ये ९० प्रतिशत रकम निर्माताले पाउनै पर्ने बताए। उनले भने– ‘हिन्दी फिल्मको पैसा सरकारले राखोस् या अन्तै लैजाओस् त्यो हामीलाई मतलब छैन। तर नेपाली चलचित्रको व्यापारबाट आएको ९० प्रतिशत रकम निर्माताको हातमा पर्नुपर्छ।’ उनले निर्माता, वितरक र प्रदर्शकको मात्रै चलचित्र उद्योग हो भनेर यहाँसम्म आए पनि अब भने उनीहरूसँगै प्राविधिक र कलाकार पनि चलचित्र उद्योगको मुख्य खम्बा भएर उभिएको चर्चा गर्दै चलचित्रसम्बन्धी नीतिगत कुराहरूमा उनीहरूसँग पनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए।
त्यस्तै निर्माता संघ र चलचित्र संघको विवाद यस पटक पनि कार्यक्रममा छर्लङ्गै देखियो। चलचित्र निर्माता संघका प्रथम उपाध्यक्ष उदय ‘सुब्बा र चलचित्र संघका उप–महासचिव मधुसूधन प्रधानबीच साधारण सभाको खुला सत्रमा नै जुहारी चल्यो। निर्माता संघका सुब्बा आफ्नो स्वागत मन्तव्यको क्रममा दर्शक र अतिथिलाई स्वागत गर्नुको सट्टा चलचित्र संघप्रति खनिएपछि त्यसको प्रतिक्रियामा चलचित्र संघका प्रधानले खरो जवाफ दिए। सुब्बाले चलचित्र उद्योग धरासायी हुँदै जानुमा चलचित्र संघको मुख्य भूमिका रहेको बताएका थिए। उनले भने– ‘बिहान एउटा फिल्म लगाएर, बेलुकी अर्को फिल्म लगाएको पनि देखियो। हामीले पूर्वमा छापा मारेर नेपाली फिल्मलाईनै नाइट शो देखाउने व्यवस्था गरेका छौं। एउटै हलमा दुईवटा भाषाको फिल्म नलगाउने सम्झौता भए तापनि त्यलाई चलचित्र संघले पूरै दुरूपयोग गरेको छ।’
त्यसको प्रतिवाद गर्दै चलचित्र संघका प्रधानले निर्माता संघ र चलचित्र संघबीच नङ र मासुको जस्तो सम्बन्ध भएको भनिए पनि यो खालि कागजमा मात्र भएको र वास्तविकता अर्कै भएको समेत खुलासा गरे। उनले भने– ‘जहाँसम्म उदयजीको कुरा छ, उहाँको योद्धा फिल्मको कारण उहाँले यसो भन्नुभएको होला। उहाँले माघेसंक्रान्तिको बिदा खान त्यो फिल्म रिलिज गर्नुभएको थियो। फिल्म रिलिज गर्दा सबै निर्माताले आ–आफ्नै दाउ छोप्छन्। योद्धा फिल्मको उहाँले प्रमोट गर्न सक्नुभएन। दुई दिनसम्म उहाँको मोबाइल स्विच भएकाले सम्पर्क नभएपछि बाध्य भएर हामीले अर्को फिल्म लगाएका हौं। उहाँले पूरै छापामा खबर गर्ने, छापामार्ने जस्तो काम नगरेको भए राम्रो हुन्थ्यो’, प्रधानको भनाइ थियो– ‘छलफल गरेर अगाडि बढेको भए, यो विषय टुंगिन्थ्यो।’
कार्यक्रममा चलचित्र उद्योगसँग आवद्ध सभासद्द्वय रामवीर मानन्धर, डा. वीरेन्द्र महत र चलचित्र निर्देशक स्व. शिव रेग्मीको नाममा अक्षय कोषको स्थापना गरी वार्षिकरूपमा चलचित्रकर्मीलाई सम्मान गर्ने घोषणा गरेका विरेन श्रेष्ठ र सुनील सिटौलालाई खादा ओढाएर सम्मान गरिएको थियो।
त्यस्तै दुई सभासद् मानन्धर र महतले चलचित्रसम्बन्धी विषयलाई निर्माण हुन लागेको संविधानमा उल्लेख गर्ने विश्वास दिलाए। कार्यक्रममा निर्माता संघका पूर्वअध्यक्ष अशोक शर्मा, सल्लाहकार डा. प्रदीप भट्टराई, नेपाल चलचित्र कलाकार संघका महासचिव रामकृष्ण वोगटी, नेपाल चलचित्र निर्देशक समाजका महासचिव ऋषि लामिछाने, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, नेपाल चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले चलचित्रसम्बन्धी सबैसँग संगठनहरू एकजुट भएमात्र यस उद्योगलाई अगाडि बढाउन सकिने बताए। साधारण सभाको खुला सत्र निर्माता संघका अध्यक्ष राजकुमार राईको अध्यक्षता र सुरेशदर्पण पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो।
नेपाल समाचारपत्र बाट