हास्य छलफलको आयोजना,मह लाई राता मकैको सम्मान


Madan-Krishna-kiran-kc (सेलिब्रेटी नेपाल) २ भाद्र-नेपालमा हास्य कलाकारिता विधाको शुरुआतकर्तामध्येका ध्रुवरत्न हाडाका साथमा मह जोडीलाई शनिबार राजधानीमा आयोजित एक समारोहबीच सम्मान गरिएको छ। हास्य विधाका लागि दशैंका रूपमा मानिँदै आएको गाईजात्रा पर्व नजिकिँदै गर्दा हास्य अभिनेता किरण केसीको आयोजनामा राजधानीमा भएको एक कार्यक्रममा उनीहरूलाई जनही नगद १० हजारसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो। हास्यव्यंग्य हिजो, आज र भोलि शीर्षकमा आयोजना गरिएको एक छलफल कार्यक्रममा उनीहरूलाई किरण केसीले सम्मान गरेका थिए। सबै जनाले संयुक्तरूपमा १० सेकेन्ड हाँसेर शुभारम्भ गरिएको कार्यक्रममा हाँसोको फोहरा शुरूमा मह जोडीले छोडेका थिए भने त्यसपछि हलमा उपस्थित सबैजना हाँसेका थिए।

कार्यक्रममा केसीले एउटा हास्य कलाकारले अरू हास्य कलाकारसँग नभएर अहिले सरकारसँग प्रतिस्पर्धा गरिरहेको बताए। ‘सरकारले यति हँसाइराखेको छ कि हामी कलाकारले त्यति धेरै कहाँ हँसाउन सक्छौं र ! –कार्यक्रममा उनले भने। किरणले आगामी वर्षदेखि हरेक वर्ष यसै शीर्षकमा छलफल चलाउने तथा वार्षिकरूपमा एक जना चलचित्र पत्रकारलाई १० हजार रुपियाँसहित सम्मान गर्ने घोषणासमेत गरे। उनले सरकारले कुनै चौबाटो प्रदान गरेमा मह जोडीको प्रतिमा तयार गर्ने पनि बताए।

अधिकांश हास्य कलाकारको राम्रै जमघट रहेको कार्यक्रममा हास्य कवि शैलेन्द्र सिम्खडाले कार्यक्रममा सहभागी कलाकारहरूले खेलेका विज्ञापनकै विषयमा व्यंग्यात्मक कविता सुनाएका थिए भने अर्का कवि लक्ष्मण गाम्नागेले पनि व्यंग्यात्मक कविता सुनाएका थिए। कार्यक्रममा व्यंग्यकार रामकुमार पाँडेले हास्य घरको स्थापना गर्नुपर्ने विचार राखेका थिए भने कार्टुनिस्ट राजेश केसीले छापा माध्यमको अस्तित्व नरहे कार्टुन विधा पनि बिलीन भएर जाने चिन्ता व्यक्त गरेका थिए। कार्यक्रममा नायिका करिश्मा मानन्धरले आफ्नो हिरो मह रहेको बताइन्। ‘म सानो हुँदै १५ गते हेरेकी थिएँ। उहाँहरू नै मेरो हिरो हो। अहिले हास्य क्षेत्रमा नलागेर मलाई पछुतो लागेको छ। अहिलेको ८० प्रतिशत दर्शक हास्य कलाकारको हो २० प्रतिशत मात्रै हामी अरू कलाकारको।’ –उनले भनिन्। दीपकराज गिरीले भने हिजोको जगमा टेकेर आज राम्रो गरिए मात्रै भोलि राम्रो हुने बताए। त्यसै गरी चलचिकर्मी यादव खरेलले आफ्नो जमानामा गाईजात्राका अवसरमा व्यंग्य कविता वाचन गर्ने गरेको सम्झनाका साथ आपूmद्वारा निर्मित लोभी पापीसँग सम्बन्धित केही प्रसंग प्रस्तुत गरेका थिए भने शिवहरि पौडेल, केदार घिमिरे, लक्ष्मण गाम्नागे, कनकमणि दीक्षितलगायतले विगतको हास्य व्यंग्य प्रस्तुतिको सम्झना गर्दै वर्तमानबारे चर्चा गरेका थिए।

अभिनेता लय संग्रौलाद्वारा सञ्चालित कार्यक्रममा आपूmहरूले पञ्चायत कालमा प्रहसन पस्कँदा सरकारले व्यवस्थाविरोधी ठान्ने र राजनैतिक पार्टीहरूले आफ्नो मान्छे ठान्ने गरेको स्मरण गर्दै किरण केसीले आफूलाई गाडी चलाउन सिकाएको प्रसंगका साथ उनीसँग जोडिएका केही रमाइला प्रसंग सुनाएका थिए। हरिवंशले सन्तोष पन्तको हिजो, आजका कुरादेखि अहिलेको मेरी बास्सैसम्मले लगातार गरेको मेहनतको चर्चा गर्दै मुलुकमा शान्ति सुव्यवस्था छाएमात्र औद्योगिक उन्नति हुने र कलाक्षेत्र पनि फस्टाउने बताए। ‘यस्तो बेला हामी हास्य कलाकारले देशमा शान्ति र सुव्यवस्था आओस् अनि निर्वाचन होस् भन्ने पोजेटिभ विचारका साथ आफ्ना प्रस्तुतिलाई अगाडि सार्नुपर्छ।’ –हरिवंशको भनाइ थियो। त्यसै गरी मदनकृष्ण श्रेष्ठले हास्यव्यंग्य विधा जहिले पनि प्रतिपक्षको रूपमा रहनुपर्नेमा जोड दिए।
समाचारपत्र बाट

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.