नेपाली एनिमेसन फिल्म ‘सलीना’को टिजर सार्वजनिक



काठमाडौं । नेपाली एनिमेटेड फिल्म ‘सलीना : योद्धा राजकुमारी’को टिजर सार्वजनिक गरिएको छ । राजकुमारी र राक्षसनी बीचको लडाइँको लोककथामा आधारित फिल्मलाई नेपालको पहिलो एनिमेटेड फिल्म भनिएको छ ।

धेरै वर्षअघि राक्षसनीको आतंकले मानिसलाई दुःख दिएको र त्यसलाई रोक्न सलीना नामक योद्धा राजकुमारी लडाइँमा उत्रिएको कथावस्तुमा फिल्म आधारित छ । टिजरले फिल्मको यही कथावस्तुलाई एनिमेसनको मद्दतबाट चित्रण गर्ने प्रयत्न गरेको छ ।

एक मिनेट १३ सेकेण्ड लामो टिजर एक्सन प्रधान लाग्छ । महिला सशक्तीकरणको सन्देश दिने यो फिल्मलाई ६ वर्ष लगाएर रेनमेकर एनिमेसन र भिजुअल इफेक्ट एकेडेमीले तयार पारेको निर्देशक तेजशराज जोशीले बताए ।

शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेको फिल्ममा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर ग्राफिक कलाकारका रुपमा छन् । यसमा कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने लगायतले स्वरांकन गरेका छन् । फिल्मको निर्माता तेजशराज जोशी र श्रुति श्रेष्ठ हुन् ।