सिद्धार्थ आर्ट ग्यालरीमा ‘फ्रम भक्तपुर टु कान्तिपुर’ कला प्रदर्शनी



काठमाडौं । भक्तपुरको परिचय मौलिक कला तथा संस्कृति नगरीको रुपमा रहेको छ । यहाँका सम्पदा, संस्कृति, परम्परा हेर्न विश्वबाट मानिस आइपुग्छन् । यहाँका यिनै विविध पक्षहरुलाई समेटेर कलाकारले तयार पारेका तथा अन्य समसामयिक कलाको प्रदर्शनी बुधबारबाट बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ ।

कलाकार पूर्ण ह्योजुले अहिलेको समयमा कलाकारको केही आर्थिक क्रियाकलाप पनि होस् भनेर यस प्रदर्शनी गरिएको बताउँछन् । उनी भन्छन् ‘भक्तपुरका परम्परागत तथा समसामयिक कलाकारलाई एकै ठाउँमा उभ्याएर परिचित गराउन पनि यस कार्यक्रम महत्वपूर्ण छ ।’ उनले थपे, ‘लकडाउन र आर्थिक मन्दीको कारणले गर्दा अहिले नयाँ पुस्ताका कलाकारलाई यही क्षेत्रमा लागेर होला त ? भन्ने भएको छ । अहिले एक पाइलापछि सर्न परे पनि सँधै त यस्तो नहोला । मेरो ४०–४५ वर्षको करिअरमा यस्तो समस्या त भोग्दै आएको हो । हामीले आशा राम्रै गर्नुपर्छ ।’

कलाकार सुन्दर सिंख्वालले कोरोना महामारीको लकडाउन तथा विश्वव्यापी आर्थिक मन्दीको बाबजुत यस प्रदर्शनी महत्वपूर्ण रहेको बताए । उनले भने, ‘लोकल बजारमा आर्ट प्रमोट गर्नको लागि यो प्रदर्शनी महत्वपूर्ण छ । त्यस्तै, हाम्रो आफ्नो शैली, कला छ भनेर बुझाउन गाह्रो भएको बेला सबैलाई बुझाउन जरुरी छ भन्ने लागेर प्रदर्शनी गरेका हौंँ ।’ उद्घाटनको दिन नै झन्डै २० लाखको कलाकृति बिक्री भएपछि कलाकार हौसिएको बताउँदै उनले यस प्रदर्शनीमा भक्तपुरका झन्डै ८० प्रतिशत कलाकारलाई समेटिएको बताए । उनका अनुसार प्रदर्शनीमा ४८ हजारदेखि ८ लाख ७५ हजार मूल्यसम्मका कलाकृति राखिएका छन् ।

कलाकार अशुराम खाइजुले सिनियरदेखि जुनियरसम्मका कलाकार एकै ठाउँमा आउनु नै यस प्रदर्शनीको महत्वपूर्ण पाटो भएको बताए । ‘प्रदर्शनीमार्फत आफ्नो परम्परा के रहेछ भनेर चिन्न, विदेशी अतिक्रमणबारे बुझ्न सकिन्छ’, उनले भने । कार्यक्रममा कलाकारको सहभागिता देखेर आफु खुसी भएको उनको भनाइ छ । कलाकार रजनी सिंख्वालले आर्टिस्ट, आर्ट कलेक्टर तथा पुराना र आफ्ना समकालीन कलाकारबीच भेट गराउन पनि यस्ता प्रदर्शनी सहयोगी हुने बताइन् । उनले भनिन्, ‘आर्ट सोसाइटीसँगै आफ्नो ग्रोथ एन्ड डेभलपमेन्टका लागि पनि यस्ता कार्यक्रम महत्वपूर्ण छ ।’

आफ्ना अभिभावक नै कला क्षेत्रमा भएकाले आफू भाग्यमानी भएको बताउँदै उनले पौभामा कलाकार भएर बाँच्ने अवस्था रहेको बताइन् । यस क्षेत्रमा महिलाको सहभागिताबारे उनले भनिन्, ‘सिक्ने बेला महिलाहरु धेरै हुन्छन् । बीचमा घर र काम पनि सम्हाल्नुपर्ने तथा समय धेरै दिनुपर्ने हुँदा इन्ट्रेस्टेड भएर पनि कन्टिन्यु गर्न गाह्रो भएको देखिन्छ ।’

‘फ्रम भक्तपुर टु कान्तिपुर’ नाम दिइएको यस प्रदर्शनीमा परम्परागत कलाका ५० सहित समसामयिक कलाका कलाकृति पनि राखिएका छन् । प्रदर्शनीमा परम्परागत कलाकार पूर्ण ह्योजु, सुन्दर सिंख्वाल, रत्नगोपाल सिंख्वाल, हरिप्रसाद वैद्य, बलराम निसुतु, कृष्णराम घेमसु, रविन्द्र मुनकर्मी, पुरण ह्योजु, महेन्द्र सिंख्वाल, देवेन्द्र सिंख्वाल, इन्द्र सिंख्वाल, शशीधर सैंजु, रजनी सिंख्वाल, रोजिना सिंख्वाल, रामहरी सिंख्वाल, चन्द्रकृष्ण किजु, श्यामसुन्दर ख्याजु, सुन्दर श्रेष्ठ, मुना ग्वाचा, रोशन ख्याजु, राजन साँगछें, शिवप्रसाद किजु, सुवेन्द्र लोहला, अजय कर्माचार्य, दिनेश सिंख्वाल, मृगेन्द्र कर्माचार्य, मनोज सिंख्वाल र अनु बोहजुको सहभागिता रहेको छ ।

त्यस्तै, समसामयिक कलाअन्तर्गत बालकृष्ण बनमाला, लक्ष्मण कर्माचार्य, सुदीप बल्ल, नारायण बोहजु, भुषण दुवाल, राकेश याकामी, मिनोद भैल, आशुराम खाइजु, मुकेश श्रेष्ठ, रविता किसी र एन्जिला मानन्धरले प्रदर्शनीमा सहभागिता जनाएका छन् । प्रदर्शनी जेठ ५ गतेसम्म चल्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.