मौन ‘परदेशी २’



०७८ को दशैँमा प्रदर्शनमा ल्याउने योजनासहित छायाँकन सुरु गरिएको फिल्म हो, ‘परदेशी २’ ।

नारायण रायमाझी निर्देशित यो फिल्म कोरोना महामारीका कारण उक्त मितिमा प्रदर्शनमा आउन सकेन् ।

त्यसपछि फिल्मको प्रदर्शन मिति तोकियो – ०७९ को वडादशैं । यद्यपि, दशैँमा प्रदर्शनमा आउने फिल्मको संख्या धेरै देखियो । फिल्महरूको भीडभाडमा ‘परदेशी २’ प्रदर्शनमा आउन चाहेन । फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति तोकेर फिल्मको प्रचार–प्रसार अगाडि बढाइयो । अन्ततः फागुनमा पनि यो फिल्म प्रदर्शनमा नआउने भएको छ । तोकेको प्रदर्शन मिति आउन केही दिनमात्रै बाँकी रहँदा निर्माण टिमले प्रचारप्रसार केही गरेको छैन् ।

निर्माण टिम पूर्ण रुपमा मौन बसेको छ ।

स्रोतका अनुसार केही दृश्यहरू पुनः छायाँकन गर्ने र फिल्म आगामी वर्ष मात्रै रिलिज गर्ने सोच निर्माण टिमले बनाएको छ । आगामी वर्षको तीज अथवा दशैँमा फिल्म प्रदर्शनमा ल्याउनेगरी छलफल गरिएको छ । तर, निर्माण टिमले केही जानकारी नदिई मौन बस्नुलाई भने धेरैले आश्चर्यका रुपमा लिएका छन् ।

चलचित्रको पोष्टर, टिजर र गीतले अपेक्षित प्रतिक्रिया बनाउन नसक्दा पनि निर्माण टिम निराश छ । त्यसैले पनि केही बलियो प्रचार सामाग्रीका साथ नयाँ प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माण पक्ष रहेको बुझिएको छ ।

‘परदेशी २’मा प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका रहेको छ । लोकप्रिय गायक प्रकाश सपूतको यो डेब्यू फिल्म हो । नारायण इन्टरनेशनल प्रा.लि.को प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझी मिलेर फिल्मको निर्माण गरेका हुन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको कथा रहेको फिल्ममा नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको छ ।

अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत फिल्मले पेश गर्छ । पोष्टर, टिजरसहित फिल्मको एउटा गीत समेत यसअघि सार्वजनिक भइसकेको छ ।

‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता हिट फिल्म दिएको ब्यानर, हिट फिल्मको सिरिज, प्रकाशको डेब्यू फिल्म, स्टार कलाकारहरूको अभिनय लगायतका कारण निर्माण घोषणादेखि नै ‘परदेशी २’लाई प्रतीक्षित मानिएको थियो ।