गीत-संगीतमा थप सक्रिय हिसाबले लाग्छु : करण राई



काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता बनेका करण राईले आफू निरन्तर गीत-संगीत क्षेत्रमा सक्रिय रहने बताएका छन् ।

शुक्रबार राती भएको ग्राण्ड फिनालेमा विजेता बनेपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली गीतसंगीतलाई आफ्नो तर्फबाट टेवा दिने कोशिस सधै रहने बताएका हुन् । नेपालमा जन्मिएका गायक राई बाध्यताबश आफू अमेरिका पुगेको बताउँछन् ।

‘नेपालमा मेरो जन्म भयो । तर, बाध्यताबशले अमेरिका गएँ । नागरिकको हिसावले म अमेरिकन नागरिक भएपनि मनको हिसावले मेरो देश नेपाल हो’ उनले भनेका छन् ‘किनभने मेरो आमा, मेरो माटो, बोल्ने भाषा सबै नेपाली हो । अब त झन गीतसंगीतमा सक्रिय हिसाबले लाग्छु । र, नेपाली गीतसंगीतलाई टेवा दिने कोशिस गर्छु ।’ गायक राई टिम राजु (राजु लामा)बाट विजेता बनेका हुन् ।

टिम राजुलाई विश्वास गरेर आफूलाई भोट गर्ने स्रोता एवं दर्शकहरुलाई समेत उनले धन्यवाद दिएका छन् । आफूमा अब ठूलो जिम्मेवारी थपिएको बताउँदै उनले त्यसलाई निभाउने कोशिस रहने बताएका छन् ।

चाँडै नै राम्रो गीतमार्फत स्रोता दर्शकसामु आउने तयारी गरिरहेको विजेता राईले बताए । विजेता बनेका राईले नगद २५ लाखसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा राजु लामासहित प्रमोद खरेल, राजेशपायल राई, प्रविशा अधिकारी निर्णायक थिए । टिम राजेशबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् भने टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बनेका छन् । स्रोता दर्शकहरुको भोटको आधारमा विजेता घोषित गरिएको थियो ।