प्रदीपले बोर्ड अध्यक्षको राजीनामा माग्दै दिए निर्माता संघको समानान्तर अर्को संघ खोल्ने चेतावनी



काठमाडौँ। आगामी शुक्रवार अर्थात असोज ७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रेमगीत ३’का नायक प्रदीप खड्काले बोर्ड अध्यक्ष भुवन केसीले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । चलचित्र विकास बोर्डले राती ११ बजेपछि हल संचालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिनुपर्ने प्रावधान ल्याएको छ । प्रदीपले भने यो नियम फिल्म ‘प्रेमगीत ३’लाई लक्षित गरेर ल्याइएको भन्दै राजिनामा दिन माग गरेका हुन् ।

उनले भने–‘मैले स्वविवेक प्रयोग नगर्ने, अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन भनेको हुँ ।’ प्रदीपले केही समय अगाडि ‘प्रेमगीत ३’लाई चलचित्र विकास बोर्डले गरेको सम्मान पनि देखाउने दाँत मात्र भएको तर्क गरे । उनले अगाडि भने–‘मैले प्रकाशको बेलामा कसैसँग पनि प्रतिस्पर्धा छैन भनेको थिएँ । खुट्टा कहाँसम्म तान्ने, आफ्नो हातले भ्याउँदासम्म हो । टुप्पोमा चढिसकेपछि कहाँ गएर तान्ने ?’

उनले, आफू अझै पनि १०–२० बर्ष यही क्षेत्रमा रहने भन्दै भुवन केसीलाई विकास बोर्डबाट फर्किनु छैन र भनेर प्रश्न गरे । उनले अगाडि भने–‘विकास बोर्ड कसैको व्यक्तिगत जागिर खाने ठाउँ हो र ? राजा त हटाए भने विकास बोर्डको जागिर स्थायी हो र ? उहाँलाई त्यहाँबाट निस्कनु छैन र ?’

प्रदीपले चलचित्र निर्माता संघका अध्यक्षले देशद्रोहको मुद्दा लगाउनुपर्ने भनेर दिएको अभिव्यक्तिमा पनि आपत्ती जनाए । उनले, निर्माता संघको समानान्तर अर्को संघ खोल्ने चेतावनी समेत दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.