रोमानियामा विवेकसँग रोमान्टिक आँचल, यसरी हुँदैछ ‘वर एण्ड वधु’को सुटिङ



काठमाडौं । चलचित्र ‘वर एण्ड वधु’को छायांकन यतिबेला युरोपेली मुलुक रोमानियामा भइरहेको छ ।

अभिनेत्री आँचल शर्मा, विवेक कर्माचार्य लगायतको मुख्य भूमिका रहेको चलचित्रको विगत ३ सातादेखि रोमानियामा छायाँकन चलिरहेको हो । अझै ५ दिन रोमानियामा छायाँकन हुने र बाँकी छायाँकन नेपालमा गरिने निर्देशक मिलन चाम्सले जानकारी दिए।

बुधबारसम्म यास सहरमा भइरहेको छायांकन आजदेखि भने कन्सटंगा सहरमा सुरु भएको छ ।

त्यहाँको सुटिङ सकेर निर्माण टिम आउँदो साता काठमाडौं फर्किने तयारीमा छ । चलचित्रको रोमानिया छायांकन सकिने केही दिन मात्र बाँकी रहेको समयमा निर्माणपक्षले केही तस्वीरहरु सार्वजनिक गरेको छ । जहाँ, आँचल र नव–नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् । चलचित्रका निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए ।

रोमान्टिक कमेडी कथामा निर्माण भैरहेको चलचित्रलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।

रोमानियामा चलचित्रको छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी निर्देशक चाम्सले गरे । सुदिप बरालको छायांकन रहेको चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । तर, निर्माणपक्षले सार्वजनिक गरेको तस्वीरले चलचित्रप्रति दर्शकको उत्सुकता बढ्ने निश्चित छ ।