…अनि हलमा फ्लप ‘डाँडाको वरपीपल’को सिक्वेल बनाउने सोँचमा पुगे शोभित



काठमाडौं। हल प्रदर्शनमा असफल भएको चलचित्र हो, ‘डाँडाको वरपीपल’ । शोभित बस्नेत निर्देशित चलचित्र गत वर्षको असोजमा प्रदर्शनमा आएको थियो । हल प्रदर्शनमा चलचित्र हेर्न दर्शकको निकै खडेरी परेको थिया् । तर, हलमा असफल यस चलचित्रको सिक्वेल निर्माण हुने भएको छ । निर्देशक बस्नेत यतिबेला ‘डाँडाको वरपीपल २’ निर्माण गर्ने तयारीमा जुटिसकेका छन् ।

नेपालमा प्रायः हलमा सफल भएका चलचित्रको मात्र सिक्वेल वा सिरिज निर्माण हुँदै आएका छन् । तर शोभितले हलमा असफल भएको चलचित्रको सिक्वेल बनाउने सोँच किन बनाए ? शोभितले कारण खुलाए, – ‘हलमा कमजोर देखिएपनि चलचित्रले युट्युबमा निकै राम्रो भ्युज पाएको छ । अपलोड भएको १८ घण्टामा चलचित्र ट्रेन्डिङको पहिलो नम्बरमा आयो । युट्युबमा प्रतिक्रियाहरु समेत शत प्रतिशत प्रतिक्रिया राम्रो आएको छ । सोही कारण नै सिक्वेल बनाउने सोँचमा पुगेका हौं ।’ उसो त सिक्वेल बनाउने सोँचका साथ नै ‘डाँडाको वरपीपल’को छायाँकन प्रारम्भ गरिएको थियो । कलाकारहरुसँग सोही अनुसार कुरा पनि भएको शोभित बताउँछन् ।

‘तर, रिलिजका बेला विभिन्न घटना, परिघटनाहरु भए । हल पनि कोरोनापछि भर्खरै खुलेको थियो । सोही कारण हामी धेरै दर्शकसम्म पुग्न सकेनौं । हलमा राम्रो दर्शक नआउनुभएपनि ठिकै छ दोस्रो पार्ट नगर्ने भनेर बसेका थियौं’ बस्नेतले थप कारण प्रष्टयाए ‘तर अहिले युट्युबमा रिलिज भएपछि निकै राम्रो प्रतिक्रिया आएका छन् । सोही कारण सिक्वेल बनाउने निर्णय लिएका हौं ।’

उसो त युट्युबमा प्रायः जसो चलचित्रले राम्रो भ्युज पाउने गरेका छन् । तर, प्रतिक्रिया भने सबैको शतप्रतिशत राम्रो नआउने बस्नेत बताउँछन् । भ्युज भन्दा पनि राम्रो प्रतिक्रियाका कारण सिक्वेल बनाउन लागेको उनी बताउँछन् । सिक्वेलमा यसअघिकै कथालाई निरन्तरता दिने बस्नेतले बताए । ‘डाँडाको वरपीपल’मा सलोन बस्नेत, रुबिना थापा, शिव श्रेष्ठ, गौरी मल्ल लगायतको मुख्य भूमिका छ । सिक्वेलमा पनि उनीहरु नै रहने यद्यपी टुंगो भने लागिनसकेको निर्देशक बस्नेत बताउँछन् । उनले भने, ‘अरु दिमागमा हुनुहुन्न । उहाँहरु चार जनासँग नै एकचरण कुरा गर्दैछौं । त्यसपछि मात्र अरु कलाकारहरु तय हुन्छ ।’ चलचित्रको निर्मातामा बुढासुब्बा मुभिज नै हुने बस्नेतको भनाइ छ ।

‘डाँडाको वरपीपल’गत शनिबार युट्युबमा सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको दोस्रो दिनदेखि नै फिल्म ट्रेन्डिङको शीर्षस्थानमा रहिरहेको छ । फिल्मले लोभलाग्दो भ्युज पाएको छ । बिहीबार बिहानसम्म चलचित्रको भ्युज १८ लाख नाघिसकेको छ ।