‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ का प्रतिस्पर्धी नेपालमा



काठमाडौँ। इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका(इन्ट्रा फाउन्डेशन)ले अमेरिकामा आयोजना गरेको ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए –सिजन २’ को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरुलाई सोमवार त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।

इन्ट्रा फाउन्डेशन, नेपाल च्याप्टरको आयोजनामा अमेरिकाबाट आएका २४ जना प्रतिस्पर्धीसहित ४२ जना व्यक्तिहरुलाई विमानस्थलमा स्वागत गरिएको हो । पञ्चेबाजासहित उनीहरुलाई स्वागत गरिएको थियो । स्वागतपश्चात त्रिभुवन विमानस्थलबाट २ दर्जन बढी मोटरसाइकल र्यालीसहित २४ प्रतिस्पर्धीलाई आयोजकले ठमेलको मुलबरी होटलमा पुर्याइएको थियो ।

होटलमा आयोजित पत्रकार सम्मेलनमा दुई वटा रियालिटी शोको बिषयमा जानकारी दिइयो । ग्यालेक्सी फोर के टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रशारण भैरहेको यो शोको बाँकी १० भागको छायांकन नेपालमै हुनेछ । कार्यक्रमको फाइनल भने अमेरिकामा नै हुने आयोजकले जनाएको छ ।

अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरुले भाग लिएको प्रतिस्पर्धा अन्तर्गत ‘मेरो भ्वाइस कप–२’को उत्कृष्ट १२ मा शित्तल शर्मा, मुना लकान्ड्री, बाबु खालिङ, करण तामाङ, प्रेम अङदेम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट गुरुङ, सागर सुवेदी र लिला गजमेर, संगीता बोगटी छन् ।

यस्तै, ‘मेरो डान्स कप’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सब्य बिष्ट, सुमिका तामाङ, आयुषा समाल लगायत छन् ।

यी दुबै कार्यक्रमको निर्देशक एलिन श्रेष्ठ हुन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको दुबै रियालिटी शोले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरुलाई विश्वमाझ चिनाउन मद्दत गरेको कार्यक्रम संयोजक इन्द्र बाँनियाले जानकारी दिए ।

‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा दिपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा र अर्जुन रसाइली छन् । यस्तै, ‘मेरो डान्स कप, यूएसए’को निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर वीसी, संचिता लुइटेल र नरमान राई छन् । दुबै कार्यक्रमको संचालन अभिनेत्री रीमा विश्वकर्मा र राजेश घतानीले गर्नेछन् ।

कार्यक्रममा फाउन्डेशनका नेपाल च्याप्टर अध्यक्ष दिलिप रायमाझीले अमेरिकाबाट आएका प्रतिस्पर्धीहरुलाई स्वागत गरेका थिए । सबै प्रतिस्पर्धीहरुले नेपाल आउन पाउँदा अत्यन्तै उत्साहित भएको बताए । उनीहरुले जुनसुकै देशमा रहेपनि नेपाल र नेपाली भाषालाई मनमा बोकेर हिडेको सुनाएका थिए । कार्यक्रममा भ्वाइस अफ नेपाल ३ का विजेता किरण गजमेरले प्रतिस्पर्धीहरुलाई नेपाल र नेपाली भाषालाई सधै माया गरिराख्न आग्रह गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.