‘प्रकाश’को टिजरलाई उम्दा प्रतिक्रिया – ‘अर्ग्यानिक कथा, मनछुने अभिनय’



काठमाडौं । मंगलबार सार्वजनिक चलचित्र ‘प्रकाश’को टिजरले दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ । दर्शकहरुले चलचित्रलाई अग्र्यानिक कथा भनेका छन् भने कलाकारहरुको अभिनय अब्बल लागेको बताएका छन् । १ मिनेट ४५ सेकेन्ड अवधिको टिजरमा अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्केलाई प्रस्तुत गरिएको छ । दर्शकहरुले उनीहरुको अभिनयलाई अब्बल रहेको बताएका हुन् । चलचित्रले कर्णालीको कथा प्रस्तुत गर्छ । जुम्लाको एक विपन्न परिवारको युवकले सरकारी शिक्षक बन्न गरेको संघर्ष टिजरमा देखाईएको छ । जुम्लामै छायाँकन गरिएको चलचित्रको टिजरमा त्यहाँको लवज, भाषा, भेषभूषा देखाईएको छ । टिजर मर्मस्पर्शी लाग्छ । त्यसैले त टिजर हेरेका अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

टिजर हेरेपछि पुश्कर जोशीको प्रतिक्रिया छ – ‘साँच्चै मन छुने कथा, प्रस्तुती यथार्थ र नेपालीपनको नमूना ।’ सुशील विश्वकर्माले टिजर हेर्दा चलचित्र उत्कृष्ट बनेको होला भन्ने अनुमान लगाउन सकिने प्रतिक्रिया दिएका छन् । उनी लेख्छन्, ‘टिजर हेर्दा ग्रामीण नेपाली समाजको वास्तविक कथालाई चलचित्रमा सुन्दर ढङ्गले प्रस्तुत गरेको जस्तो देखाइएको छ । सिनेमा पनि पक्कै उत्कृष्ट बनेको छ होला भन्ने अनुमान लगाउन सकिन्छ ।’ कतिपयले ‘प्रकाश’ नेपाली चलचित्र जगतको अर्को ठूलो उपलब्धि भएको बताएका छन् । टिजरबाट प्रदीप र दीयाले निकै राम्रो प्रतिक्रिया पाएका छन् । विशेषगरी प्रदीप खड्काको अभिनयको दर्शकहरुले वाहवाही गरेका छन् । रोमान्टिक भूमिकामा देखिँदै आएका प्रदीप यसमा फरक क्यारेक्टरमा ‘ढलेका’ छन् ।

सन्ध्या रसाईलीको प्रतिक्रिया छ ‘प्रदीप, प्रेम भनेर त चिनेकै छौ तर अबबाट प्रकाश भनेर नि चिनिनु हुनेछ प्रदिप खड्का । हजुरलाई सधैं एउटै लुक्स मतलब रोमान्टिकमा देखेको यसपालि यो नयाँ लुक्स र अभिनय एकदमै तारिफपूर्ण छ ।’ प्रदीपले मनछुने अभिनय गरेको भन्दै आफू कस्तो कलाकार हुँ भनेर यस चलचित्रबाट प्रमाणित गरिदिएको दर्शकहरुको प्रतिक्रिया छ । कतिपयले पछिल्लो समय चलचित्रहरु सुदूरपश्चिमको भाषा र कथामा निर्माण भएको देख्दा खुशी लागेको समेत बताएका छन् । दर्शकहरु टिजर हर्दा चलचित्र हेर्न निकै उत्साहित रहेको बताएका छन् । टिजरले राम्रो भ्युज पाउँदै युट्युब ट्रेन्डिङमा समेत उक्लिएको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप र दीयाका अलवा राजन खतिवडा, प्रकाश घिमिरे, रेनु योगी लगायतका कलाकारको समेत अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको चलचित्रलाई राजेश श्रेष्ठले छायाँकन, जीवन थापाले सम्पादन गरेका हुन् । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्र भदौं १० गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।