गणतन्त्र दिवसको अवसर पारेर ‘काँडेतार’को फस्टलुक पोष्टर रिलिज



काठमाडौं । नेपाली चलचित्र ‘काँडेतार’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । आईतबार गणतन्त्र दिवसको अवसर पारेर नवल खड्का निर्देशित चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोष्टरमा चलचित्रमा शीर्ष कलाकारहरु अभिनेताहरु नवल खड्का, गौरव पहारी, प्रशान्त यादवसँगै अभिनेत्रीहरु सुरबीना कार्की र रेबिका गुरुङलाई प्रस्तुत गरिएको छ । चलचित्रका शीर्ष चार कलाकारहरुले हातमा काँडेतार लिएको पोष्टरमा देख्न सकिन्छ । नेपाल–भारतको सीमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा यो चलचित्र निर्माण गरिएको हो ।
नवल खड्काको कथा रहेको चलचित्रको पटकथा नवल र शिवम् अधिकारीले लेखेका हुन् । माकिको राई र अञ्जु केसी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् । चलचित्रमा मुरलीधर, रविन्द्र रञ्जन झालगायत अन्य एक दर्जन बढी कलाकारहरुले समेत अभिनय गरेका छन् ।

यो चलचित्र सार्वजनिक प्रदर्शनभन्दा अगाडि विदेशमा प्रदर्शन गरिने साथै देशका विभिन्न जिल्लामा च्यारीटी शो गर्ने निर्माण टिमको योजना छ । श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको नृत्य निर्देशन रहेको चलचित्रका गीतमा मणि थापा र दीपक शर्माको संगीत रहनेछ । चलचित्र सम्पादनको जिम्मेवारी तारा थापा ‘किम्भे’ले र बन्दे प्रसादले लिएका छन् । नवलले यसअघि ‘दशगजा’, ‘भीमदत्त’ जस्ता देशभक्तिले भरिएका चलचित्र बनाएका थिए ।

सीमानामा काँडेतार लगाउँदा मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै नगरी असल छिमेकीसँगको सद्भाव पनि कायम राख्ने ‘काँडेतार’ चलचित्रको कथासार रहेको निर्देशक एवं अभिनेता नवल खड्काले बताए ।