बहुप्रतिक्षित ‘कबड्डी ४’ आजदेखि हलमा



काठमाडौं । बहुप्रतिक्षित मल्टीस्टारर नेपाली चलचित्र ‘कबड्डी ४’ आज (शुक्रबार)देखि देशभरका हलमा प्रदर्शनमा आएको छ । दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टारर कमेडी जनराको यो चलचित्रले कोरोना महामारीयताकै सर्वाधिक कमाई गर्ने अनुमान गरिएको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ, सौगात र मिरुनाका अलावा गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, उपेन्द्र सुब्बा लगायतको अभिनय छ । चलचित्रको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् ।

चलचित्रलाई प्रदर्शनको पहिलो दिन देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स एक्लैले १ सय बढी शो उपलब्ध गराएको छ । यो चलचित्र प्रदर्शनको इतिहासमा कुनै चलचित्रले पाएको आजसम्मको सर्वाधिक शो हो । चलचित्रलाई अन्य मल्टिप्लेक्स हलहरूले पनि राम्रो शो दिएका छन् । चलचित्रको टिकट बिक्री पनि आक्रामक देखिएको छ ।
मणिराम पोखरेल, विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, ओम चन्द रौनियार निर्माताका रुपमा छन् ।

शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्रको बिहीबार साँझ राजधानीमा रेडक कार्पेट प्रिमियर शो समेत गरिएको थियो । प्रिमियरमा चलचित्र हेरेका अधिकांशले अघिल्ला सिरिजभन्दा रमाईलो लागेको बताएका छन् । ‘कबड्डी’का यसअघिका तीनवटै भाग सुपरहिट भएका थिए । ‘कबड्डी ४’ले लगानी भने प्रदर्शन अगावै ओभरसिज र डिजिटल राइटस्बाट सुरक्षित गरिसकेको छ ।