लाप्राकमा हुने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को तयारी पुरा



काठमाडौं । गोरखाको दुर्गम लाप्राक गाउँमा हुने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को सम्पूर्ण तयारी पूरा भएको छ । सेलिब्रेटी नेपालले यहि बैशाख ५ गतेदेखि लाप्राकमा तीनदिने ग्रामीण चलचित्र महोत्सव आयोजना गर्न लागेको छ ।

आयोजक संस्था सेलिब्रेटी नेपालले बुधबार गोरखामा पत्रकार सम्मेलन गर्दै चलचित्र महोत्सवको तयारी पुरा भएको जानकारी दिएको हो । आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवको तयारी पुरा भएको जानकारी दिँदै ३५ वटा चलचित्रले सहभागीता जनाएको बताए ।

महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी र फिचर फिल्म प्रदर्शन गरिने सापकोटाले जानकारी दिए । ‘एउटा ग्रामीण भेगमा अर्को ग्रामीण भेगमा बनेका चलचित्र प्रदर्शन गर्दा त्यस्ता चलचित्रको प्रवद्र्धन हुने हाम्रो विश्वास छ’, सापकोटाले भने, ‘त्यसैले हामीले तराईका गाउँमा बनेका चलचित्र पहाडी, हिमाली गाउँहरुमा देखाउने, पहाडी गाउँमा बनेका चलचित्र तराई तथा हिमाली गाउँहरुमा देखाउँदैछौँ ।’ महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्ड समेत वितरण गरिनेछ । त्यस्तै, गाउँका स्थानीय दन्त्यकथाहरु सुन्ने कार्यक्रम पनि राखिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

लाप्राक र यस आसपासमा स्थानीय भाषाका धेरै चलचित्र छायाँकन एवं निर्माण भएको बताउँदै धार्चे गाउँपालिका वडा नंं ४ का वडाध्यक्ष तथा स्थानीय महोत्सव व्यवस्थापक राज गुरुङले नेपाल ग्रामीण चलचित्र महोत्सव आयोजना गरेपछि झन यसको विकास हुने विश्वास व्यक्त गरे ।

Copyright © 2012 - 2026 | All Right Reserved.