खेलाडी एन्जिलाको कथामा बन्ने भो ‘अन्जिला’



काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरियो । मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्रमा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । उनीसँगै चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ ।

एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइने निर्देशक चाम्सले जानकारी दिए । उनले चलचित्रको घोषणा सभामा भने, ‘एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई चलचित्रमा देखाउने छौं । सफल खेलाडी बन्नु अगाडि एन्जिलाले गरेका दुःखहरु धेरै छन्, त्यसलाई चलचित्रमा विशेष जोड दिनेछौं । इच्छा भयो र गर्न चाहे असम्भव भन्ने कुरा नहुने सन्देश चलचित्रले दिनेछ ।’

उनी फिल्मलाई ठ्याक्कै एन्जिलाको बायोपिक भन्न भने रुचाउँदैनन् । चाम्स अगाडि भन्छन्, ‘एन्जिलाकै कथाबाट फिल्म प्रभावित छ । ७५ प्रतिशत चाहिँ एन्जिलाकै जीवनी देखाउने छौं । २५ प्रतिशत भने वास्तविक कथासँग जोडिएका अन्य कथाहरुलाई जोड्नेछौं । कसैको आत्मसम्मानमा ठोस नपुगोस् भनेर कथामा केही मोटिफाइड गरेका छौं ।’

खेलमा पोख्त एन्जिला पहिलो पटक अभिनयको पनि अनुभव बटुल्दैछिन् । आमाकै खातिर पनि फिल्ममा अभिनय गर्न लागेकी उनि अहिले मण्डल थिएटरमा अभिनय सिकिरहेकी छन् । फिल्ममा आफ्नोतर्फबाट सकेको काम गर्न कुनै कसर नछाड्ने उनी बताउँछिन् । उनले कसैको दबाब र प्रभावले फिल्ममा अभिनय गर्न नलागेको पनि स्पष्ट पारेकी छन् । आफ्नो जीवनीमा फिल्म बन्नु आफ्नो ठूलो उपलब्धि रहेको उनको भनाई छ ।

त्यस्तै, अभिनेता दयाहाङ राईले पहिलो पटक आफूले खेलाडीको बायोपिकमा काम गर्न लागेकोमा खुसी व्यक्त गरे । उनले भनेका छन्, ‘कलाकार भएको हिसाबले खेलकुदलाई नजिकबाट हेरिरहेको हुन्छु । तर, खेलाडीको जीवनबारे भने कमै जानकारी हुन्छ । ‘अन्जिला’बाट खेलकुदलाई अझ नजिकबाट निहाल्ने मौका पाएको छु ।’ उनले फिल्ममा निर्वाह गर्ने चरित्रको बारेमा भने जानकारी दिएनन् ।

निर्माता प्रेम कुमार श्रेष्ठले भने एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई फिल्मलाई देखाइने जानकारी दिए । १३ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा-दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए ।

एन्जिलाकै जीवनीमा फिल्म बनाउन लाग्नुको कारणबारे निर्माता श्रेष्ठले भने, ‘एन्जिलाको जीवनीमा नै फिल्म बनाउने निर्णय किन गर्‍यौं भने, उसको कथा इन्स्पायर्ड छ । खेल क्षेत्रमा संघर्ष गर्ने पात्रहरुको प्रतिनिधित्व गर्दै एन्जिलाको जीवनीमा फिल्म बनाउन लागेका हौं । उसको संघर्ष र सफलताको कथाले धेरैलाई इन्स्पायर्ड गर्छ भन्नेमा विश्वस्त छौं ।’

निर्माता श्रेष्ठले खेलकुदको विषयमा र वास्तविक पात्रले नै अभिनय गर्ने ‘अन्जिला’ पहिलो नेपाली फिल्म हुने र यो फिल्मले एउटा इतिहास बोक्ने विश्वास व्यक्त गरे । उनी यसपछि अरु खेलाडीको कथामा पनि फिल्म बनाउने सोचमा छन् । उनी भन्छन्, ‘मेरो नजरमा ४/५ जना परिसकेका छन् । यो फिल्म सफल भयो भने अर्को वर्ष सुमन लिम्बुको जीवनमाथि फिल्म बनाउने सोच बनाएको छु ।’

फिल्म घोषणा सभामा प्रमुख अतिथीको रुपमा उपस्थित भएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुवै क्षेत्र एकसाथ अगाडि बढ्नु पर्ने धारणा गरे । एन्जिलाको जीवनीमा बन्न लागेको फिल्म खेल क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने धेरैका लागि प्रेरणा बन्ने मन्त्री गहतराजको विश्वास छ । उनले भविष्यमा अरु पनि खेलाडीको जीवनीमा चलचित्र बनाउन आग्रह गरेका छन् ।

केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा प्रेम कुमार श्रेष्ठ र केन्द्र लिम्बु निर्मातामा छन् । विनोद अग्रवाल र राजेश अग्रवाल सह-निर्माता रहेको फिल्मको आउँदो वर्षको जेठ अन्तिमबाट छायांकन हुनेछ । यम थापाको कथा रहेको फिल्मलाई सुदीप बरालले खिच्नेछन् । फिल्मको घोषणा सभामा खेलकुद मन्त्री महेश्वर गहतराजसँगै खेलकुद सचिव दीवाकर रेग्मी, आइजिपी शैलेन्द्र खनाल लगायतको पनि उपस्थिति रहेको थियो ।
२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेञ्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । एन्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी छन् । यो विधामा मनोनयमा पर्ने एन्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।