काठमाडौँ। यही चैत्र १७ देखि २१ सम्म ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ ‘पाचौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२२’ आयोजना हुने भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा हुने जानकारी गराईएको छ ।
यस अघि चैत्र १० देखि १४ गते सम्म हुने अएकोमा प्राविधिक कारणले मिति परिवर्तन गरिएको बताईएको छ । पछिल्लो कोरोना महामारीको कारण भर्चुअल रुपमा आयोजना गरिएको थियो । यसपटकको महोत्सवमा ३८ देशका ८९ चलचित्रहरुबीच प्रतिष्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुबीच ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने जनाईएको छ ।
अन्तराष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत ‘गौतम बुद्ध बेष्ट न्यारेटिभ फिचर फिल्म (१५०० अमेरिकी डलर र ट्रफी), ‘माउन्ट एभरेष्ट बेष्ट डकुमेन्ट्री फिल्म (१००० अमेरिकी डलर र ट्रफी)’, ‘बागमती बेष्ट लाईभ एक्शन सर्ट फिल्म (५०० अमेरिकी डलर र ट्रफी)’ र ‘मन्जुश्री बेष्ट एनिमेटेड सर्ट फिल्म (५०० अमेरिकी डलर र ट्रफी) रहेका छन् ।
राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत ‘बेष्ट फिचर फिल्म (रु. १,००,००० र ट्रफी), ‘बेष्ट सर्ट फिल्म (रु. ५०,००० र ट्रफी)’, ‘बेष्ट डकुमेन्ट्री (रु. ५०,००० र ट्रफी), ‘बेष्ट सर्ट फिल्म डिरेक्शन (ट्रफी)’, ‘बेष्ट फिचर फिल्म सिनेमाटोग्राफी (ट्रफी)’, ‘बेष्ट फिचर फिल्म स्क्रिनराईटर (ट्रफी)’, ‘बेष्ट फिचर फिल्म मेल/फिमेल एक्टर (ट्रफी)’ तथा ‘IFFS Don Quixote बेष्ट लाई एक्शन फिचर फिल्म अवार्ड (सर्टिफिकेट) हरु रहेका छन् ।
महोत्सवमा भौतिक रुपमा प्रदर्शन हुनुको साथै अनलाइन माध्यमबाट पनि केहि चलचित्रहरु प्रदर्शन हुनेछन् । महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम समेत सञ्चालन हुने बताईएको छ ।
महोत्सवको अन्तराष्ट्रिय निर्णायक तथा मास्टरक्लासको लागि हलिउड निर्देशक एरिक भ्याली र बलिउड निर्देशक राजकुमार हिरानीसँग कुरा भएको र आउने सम्भावना रहेको महोत्सवका अध्यक्ष के.पि. पाठकले बताए । महोत्सवका फिल्म छनौट समितिमा दीपक बज्राचार्य, शिवम अधिकारी, पुरु लम्साल, सुर्य श्रेष्ठ, यादव भट्टराई र संगीता श्रेष्ठ रहेका छन् ।
पत्रकार सम्मेलनमा चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहालले यो महोत्सवले हाम्रो परिवेश तथा कथाहरुलाई अन्तराष्ट्रिय स्तरमा मजबुत पहिचान दिलाएको बताए । यस्ता प्रकृतिका कार्यक्रमहरु वोर्डले नै गर्नुपर्ने भन्दै दाहालले आफुले संचार तथा सुचना प्रविधि मन्त्रालयमा प्रस्ताव राखेको र स्विकृतको चरणमा रहेको बताए । विदेशी चलचित्रसँगको प्रतिष्पर्धाको होडमा हाम्रा कन्टेन्टहरु कमजोर हुन पुगेको भन्दै दाहालले नीतिको भन्दा कन्टेन्टको महत्व रहेको जिकिर गरे ।