काठमाडौँ। काठमाडौँमा शुक्रबारबाट अन्तर्राष्ट्रिय ‘ग्लोबल स्टिम फर एसडिजी समिट –२०२५’ भईरहेको छ । काठमाडौँको धुम्वाराही स्थित रामादा होटलमा यो समिट शुक्रबारबाट सुरु भएको हो ।
शुक्रबारबाट आईतबारसम्म चल्ने यो तीन दिवसीय समिट मलेसियाको ‘टिएमपी लिटिल साइन्टिस्ट रिसर्च एकेडेमी’ र नेपालको ‘बेन्चमार्क इन्टरनेशलन’ संस्थाले आयोजना गरेको हो ।
ग्लोबल समिटको दोस्रो दिन शनिवार यो समिट प्रदर्शनीमा केन्द्रित रह्यो । विद्यार्थीहरूले आविष्कार तथा सृजना गरेर विभिन्न प्रकारका सामग्रीहरू यो समिटमा शनिबार ४० वटा स्टलमा प्रदर्शनमा राखियो । जहाँ धेरैले उनीहरुको कला अबलोकन गरे । विज्ञान, प्रविधि, वातावरण एवम् व्यवस्थापन सम्बन्धी विषयमा केन्द्रित रहेर ९ वटा देशका विद्यार्थीहरूको सृजना त्यहाँ प्रस्तुत थियो । समिटमा १५ देशका विधार्थीको सहभागिता भए पनि नौ वटा मुलुक विधार्थीहरुले प्रत्यक्ष भाग लिएर आफ्नो सृजना प्रदर्शन गरे । जसमा विज्ञान, प्रविधि, गणित, नवप्रवर्तन, हरित सहर परियोजनाहरूलाई उनीहरूले नमुना तथा प्रत्यक्ष उत्पादनको रूपमा प्रस्तुत गरेका थिए ।
प्रत्यक्ष भाग लिएका नौ वटा देश मध्य आयोजक नेपाल र मलेसियाको विद्यार्थीहरूको प्रदर्शनी बढी थियो । यी दुई देशसँगै भारत, पाकिस्तान, बंगलादेश, काजाकिस्तान, ओमन, स्पेन, इजिप्ट जस्ता देशका विद्यार्थीहरूले आफ्नो आविष्कारलाई प्रदर्शनीमा राखेका थिए । अनलाइनबाट भने ६ वटा मुलुक विधार्थीले सहभागिता जनाएका थिए ।
शनिबारको यो प्रदर्शनी समारोहका अतिथिहरु नेपालका लागि मलेसियन राजदूतावासका कन्सुलर मोहम्मद फिर्दुस विन अजमान र धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यञ्जनले उत्कृष्ट सृजनाका लागि विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा उनीहरुको उज्ज्वल भविष्यको कामना गरे । प्रदर्शनीलाई विभिन्न व्यक्तिहरुले अवलोकन गरेका थिए ।
यो सम्मेलन पहिलो दिन शुक्रवार साँझ सोही होटलमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा नेपाल र मलेसियाका कलाकार एवम् विद्यार्थीहरूले आफ्ना देशका गीत संगीत एवम् नृत्य प्रस्तुत गर्दै सांस्कृतिक आदन प्रदान गरे ।
ती प्रदर्शनीमा उत्कृष्ट भएकाहरूलाई पुरस्कार प्रदान गर्नुका साथै उनीहरुलाई मलेशिया भ्रमणको अवसर पनि प्रदान गरिने आयोजक पक्षले जानकारी गरायो । आयोजक ‘बेन्चमार्क इन्टरनेशनल’ नेपालका सञ्चालक अजय पुनका अनुसार आइतबार सोही स्थानमा विभिन्न कार्यक्रमबिच यो समिटको समापन गरिने छ । समिटमा प्रदर्शन भएका उत्कृष्ट सृजनाहरुलाई समापन समारोहमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई पुरस्कार प्रदान गर्दै पुरस्कार प्रदान गरिने पनि पुनले बताए ।
मेलेसियन आयोजक संस्था ‘टिएमपी लिटिल साइन्टिस्ट रिसर्च एकेडेमी मलेसिया’की अध्यक्ष डा. जयामालिनीले गत वर्ष यो समिट मलेशियामा आयोजना गरिएको बताईन् । त्यसको सफलतापछि यसपटक यसलाई नेपालमा आयोजना गरिएको पनि उनले जानकारी गराईन् । दिगो विकास लक्ष्यमा आधारित रहेर आफूहरूले विभिन्न देशका विद्यार्थीहरूलाई यो प्रतियोगितामा समावेस गरेको पनि उनले बताईन् । यस्तो प्रतिस्पर्धाले विधार्थीहरुलाई नयाँ आविष्कारमा निकै ठुलो प्रेरणा मिल्ने गरेको उनको कथन थियो ।