धिरज र अदितिको ‘बाबरी’ भाद्र ३१ बाट प्रदर्शनमा आउने



काठमाडौँ। सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकर मुख्य भुमिका रहेको चलचित्र आगामी भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने छ । मंगलबार महाशिवरात्रीको अवसर पारेर निर्माण टिमले चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा मुख्य तीन पात्रको क्यारेक्टर नाम पनि चिनाइएको छ । चलचित्रमा अदिति ‘विजेता’, धिरज मगर ‘बिक्रान्त’ र धिरज नाडकर ‘रोनिश’ बनेका छन् । सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रको कथा निर्देशक पौडेल कै रहेको छ । पुष्पा अधिकारी निर्माता रहेको चलचित्रको सह-निर्मातामा सुष्मा गुरुङ छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको हो। नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।