कलाकार संघले मनायो अभिनेता विश्व बस्नेतको ७५ औं जन्मोत्सव



काठमाडौं। नेपाल चलचित्र कलाकार संघले मंगलबार एउटा ऐतिहासिक कार्य गरेको छ । नेपाली चलचित्रका जेष्ठ अभिनेता विश्व बस्नेतको ७५ औं जन्मोत्सव पारेर कलाकार संघले आज उहाँलाई उहाँकै निवासमा पुगेर तामपत्रसहित शुभकामना व्यक्त गरेको छ ।

मंगलबार चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको नेतृत्वमा गोदावरीस्थित अभिनेता बस्नेतको अहिलेको निवास गएको कलाकारहरुको एक समुहले उनलाई खादा लगाएर तामपत्रसहित सम्मान गरेको हो ।

उक्त अवसरमा संघका अध्यक्ष रविन्द्र खड्काले संघ सबै कलाकारहरूको अभिभावक भएकाले सबै कलाकारहरूको सुख दुस्खमा साथ दिनु संघको दायित्व एवं कर्तव्य भएको कुरा स्पष्ट पार्दै बिश्व बस्नेतले नेपाली चलचित्र क्षेत्रमा गर्नु भएको योगदान र संघ स्थापनाका लागि गर्नु भएको प्रयासको प्रशंसा गरेका थिए ।

नेपाल चलचित्र कलाकार संघको आयोजनामा सम्पन्न जन्मोत्सव समारोहको विशेष व्यवस्थापन टौखेल, गोदावरीस्थित आशा नेपाल (होप नेपाल) की सञ्चालिका बिमला थापाले गरेकी थिइन् । अभिनेता विश्व बस्नेत पछिल्लो एक वर्षदेखि त्यही संस्थामा बसोबास गरिरहेका छन् ।

समारोहमा कलाकार विश्व बस्नेतले जन्मदिनको केक काट्दै ७५ वर्षको उमेरमा चौथो पटक यसरी धुमधामका साथ जन्मदिन मनाएको स्मरण गरे । अभिनेता विश्व बस्नेतले आफ्नो जन्मदिन चलचित्रकर्मीहरूको बीचमा मनाउन पाउदा हर्षित भएको बताउदै संघ लगायत सबैलाई धन्यवाद दिए ।

Copyright © 2012 - 2026 | All Right Reserved.