ओएसआरको दामी म्युजिक एपमा ७५ रुपैया मा ‘कोपिला’ हेर्न पाइने



काठमाडौँ । केही समय अघि निर्मला बलात्कार काण्डमा आधारित भएर निर्माण भएको चलचित्र ‘कोपिला’ ओएसआर डिजिटलको दामी म्युजिक एपमा रिलिज भएको छ । केही समय अघि डिस होममा रिलिज भएको चलचित्र शुक्रवारबाट मोबाईल थिएटरमा रिलिज भएको हो ।

कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आधारित भएर बनेको फिल्म ‘कोपिला’ को शुक्रवार दामी म्युजिक एपको मोबाईल थिएटरमा दैनिक ४ शो रिलिज भइरहेको छ । प्रति टिकट ७५ रुपैया कायम गरिएको मोबाईल थिएटरमा मोबाईल थिएटरको हल वानमा कोपिला रिलिज गरिएको छ ।

ओ.एस.आर डिजिटल संगको सहकार्यमा सञ्चालीत दामी म्युजिक एपको मोबाईल थिएटरमा ४ वटा पर्दा रहेको छ । हरेक शुक्रवार नयाँ चलचित्र यसमा निरन्तर रिलिज हुनेछ । एक पटक टिकट काटिसकेपछि ७२ घण्टाभित्र चलचित्र हेर्नुपर्नेछ ।

अन्यथा अर्को टिकट काट्नुपर्ने दामी म्युजिक एपको नियम छ । यो आर्काइभ थिएटर भन्ने हैन । हलमा जस्तै यसमा शो अनुसार फिल्म चल्ने गर्छ । दामी म्युजिक एप डाउन लोड गरि आफुलाई मन परेको चलचित्र विभिन्न ईलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम इसेवा, खल्ति, आइएमई पे, र एनसेल तथा नमस्तेको सिमबाट पनि हेर्न सकिने व्यवस्था छ ।

शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रलाई सबैले राम्रो बनेको प्रतिक्रिया दिएका छन् । चलचित्र ‘कोपिला’ मा कलाकारहरु गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्य,प्रतिक्षा खड्का,अस्मिता जुरेली लगायतको अभिनय रहेको छ ।

चलचित्रमा निर्मलाको भूमिकामा संजीवनीले अभिनय गरेकी छिन् । यो उनको डेब्यू चलचित्र भए पनि दर्शकले उनको अभिनय रुचाएका छन् । त्यस्तै, आमाको भूमिकामा रहेकी सरिता गिरिको अभिनयको पनि प्रशंसा भएको छ ।

‘कोपिला’ मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, दिपक शर्माको संगीत र समिर मियाँको सम्पादन रहेको छ ।