‘नीरफूल’को ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘नीरफूल’को ट्रेलर सार्बजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक समारोहबीच चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको हो । संचारकर्मी फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ ले प्रदर्शन मिति एक हप्ता पर सरेको हो । फागुन ३० मा रिलिज डेट तय गरेको चलचित्र चैत ७ मा सारिएको हो ।

चलचित्रको ट्रेलरमा २०७२ सालको भूकम्पपछि धादिङको रुवी भ्यालीबाट छिन्नभिन्न भएका एक परिवारले काठमाडौं आउँदा छोरी गुमाउनु परेको र त्यसपछिको सँघर्षको कथा समेटिएको छ । निर्देशक फुलमान बलका अनुसार गएको बिनासकारी भूकम्पमा लाखौं घरहरु भत्किए पनि यो चलचित्रले भूकम्पको समय भत्किएका मनहरुको कथा समेट्ने छ । चार वर्ष अघि विनासकारी भूकम्पको समाज, त्यो भूकम्प पीडितहरुको अहिलेसम्मको सँघर्ष लगायत समाजका बर्गीय सँघर्षको कथा पनि यो चलचित्रले उठाएको छ ।

यसरी भुकम्पमा परि विछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्षमा आधारित बताइएको चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा अभिनेता दयाहाङ राईले भने,‘भूकम्पपछि अहिलो हामीले पाएको जीवन बोनसको जीवन हो र त्यो बेला हामी कसरी बाँच्यौं भन्ने सँघर्षको कथा यसमा छ । यो चलचित्रले भूकम्पपछिको कथा उठाए पनि यसमा अरु धेरै कुराहरु समेटिएको छ ।’ आफुलाई चलचित्रको कथा साह्रै मन परेकै कारण ‘नीर फुल’मा काम गरेको पनि राइले बताए ।

चलचित्रको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् । चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।