सेलिब्रेटी नेपाल
काठमाडौँ: नेपाली चलचित्र उद्योगको सर्वोच्च सरकारी निकाय चलचित्र विकास बोर्डको अध्यक्ष पद एक महिनायता रिक्त छ । गत मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि बोर्डमा अध्यक्षको पद खाली भएको हो ।
राजनीतिक भागवण्डा र सत्तारुढ दल निकटका फिल्मकर्मी बोर्डको अध्यक्षमा नियुक्ती गर्ने परिपाटीले अहिले पनि अध्यक्ष्यको दौडमा आधा दर्जन भन्दा बढी चलचित्रकर्मी सामेल भएको चर्चा चलचित्र नगरीमा चल्न थालेको छ ।
बोर्डको अध्यक्ष पदका लागि अभिनेताद्वय राजेश हमाल र भुवन केसीसँगै निर्देशक दयाराम दाहाल, अभिनेता तथा निर्देशक नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, निर्देशक तथा अभिनेता आकाश अधिकारी र निर्देशक केपी पाठक आन्तरिक तयारीमा रहेको बुझिएको छ । यी नामहरु सत्तारुढ दल नेकपा निकट मानिन्छन् ।
बोर्डको अध्यक्षमा दाबेदारमध्ये निर्देशक दयाराम दाहाल बलियो दाबेदार भएका व्यक्ति हुन् । अहिलेका बोर्ड सदस्य पनि हुन् दाहाल । नेपाली फिल्म क्षेत्रमा साढे तीन दशकदेखि योगदान पुर्याइरहेका वरिष्ठ निर्देशक दाहाल बोर्डको अध्यक्ष पदको लागि योग्य भएको समेत चलचित्रकर्मीहरुले टिप्पणी गर्न थालेका छन् ।
सन् १९८८ मा निर्माण भएको चलचित्र ‘लाहुरे’मा सहायक निर्देशकको रुपमा काम गर्दै चलचित्र क्षेत्रमा देखिएका दाहाल कुशल निर्देशक, लेखक तथा गीतकार पनि हुन् । उनले ठुल्दाइ, तँ त साह्रै बिग्रिस नि बद्री, अर्जुन, कर्मयोद्धा, जंगे, ढुकढुकी, भाग्य विधाता, पालेदाई, अरवपति, दौंतरी, अग्नी ज्वाला, जेठो कान्छो लगायत दुई दर्जन बढी हिट चलचित्र दिएका छन् । दाहाल नेपालमा सबै भन्दा धेरै चलचित्र निर्देशन गर्ने निर्देशकका रुपमा चिनिन्छन् । चलचित्रका विभिन्न भूमिकामा रहेर ६० भन्दा बढी फिल्महरुमा उनको संलग्नता रहेको छ ।
चलचित्र विकास बोर्डमा रहेर बक्स अफिस प्रणाली, चलचित्र नीति, सुटिङ डेस्टिनेशन नेपाल लगायतका प्रोजेक्टहरुमा काम गरेको अनुभव पनि दाहालसँग रहेको थियो । श्रमजीवि फिल्मकर्मीलाई सामाजिक सुरक्षा नीति, बक्स अफिस अनुगमन समिति, अत्याधुनिक ईन्डोर चलचित्र स्टुडियो, फिल्म महोत्सब लगायतका कार्यक्रममा दाहाल स्वयम संयोजक रहेर काम अगाडी बढाईरहेको अबस्था थियो ।
तत्कालिन अध्यक्ष भट्टराईको असमायिक निधन पश्चात हाल यी सबै कार्यक्रमहरु स्थगीत र सुचारु हुन सकेको छैन । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले विज्ञापन निकालिसकेको छैन । बोर्ड अध्यक्ष चयन हुन अझै केही समय लाग्ने निश्चित प्रायः छ ।
चलचित्रका अभिनेता तथा कलाकारहरुलाई कलाकारकै समस्या मात्रै बढि थाहा हुन्छ, निर्माता तथा निर्देशक लाई चलचित्र निर्माणका समस्या मात्रै थाहा हुन्छ तर दयाराम दाहाललाई समग्र चलचित्र क्षेत्रकै सबै समस्याको वारेमा जानकारी भएको उनका बिगतका कामले प्रष्ट्याईसकेको छ । दयाराम दाहाल चलचित्र कर्मीहरुमा बौद्विक ब्यक्तित्व पनि मानिन्छन् । उनी बोर्डका लागि प्रशस्त समय व्यवस्थापन गर्न सक्ने व्यक्ति पनि हुन् ।
चलचित्र क्षेत्रका नीति नियमका कुरामा पनि उनी सजग छन । तसर्थ चलचित्र बिकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएको खण्डमा ९५ प्रतिशत फिल्मकर्मीहरु खुशि हुनेछन् । आफुपनि अध्यक्षको लागि उपयुक्त मानिने केही निर्माता, निर्देशक, अभिनेता लगायत चलचित्र संघका केही पदाधिकारी र केही वितरक बाहेक सबै फिल्मकर्मीहरु दयाराम दहालकै पक्षमा उभिएका छन ।
यी विविध कारण र चलचित्रकर्मीहरुको भनाई अनुसार बोर्डको अध्यक्षका लागि उपयुक्त उम्मेद्वार दयाराम दाहाल रहेको प्रष्ट हुन्छ । सम्बन्धित पक्ष र विभागीय मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पनि उपयुक्त ब्यक्तीलाई नै बोर्ड अध्यक्ष बनाउने प्रतिवद्वता ब्यक्त गर्दै आएका छन । यतिखेर फिल्मकर्मीको मागपनि बोर्डमा दयाराम दाहाल नै आउन् भन्ने छ ।
केही बाहेक प्राय बोर्डका पुर्व अध्यक्षहरु, निर्माता संघका अधिकांश पदाधिकारी, चलचित्र संघका अधिकांश पदाधिकारी, निर्देशक समाज, कलाकार संघ, प्राविधिक संघ, चलचित्र पत्रकार संघका अधिकांश पदाधिकारी, जनजाती चलचित्रकर्मी संघ, संगीतकार संघ, द्वन्द निर्देशक संघ, शम्भुजित बाँस्कोटा, नीर शाह, लक्ष्मीनाथ शर्मा, हरिहर शर्मा, यादव खरेल, दिनेश डिसी, दीपकराज गिरी लगायतका दर्जनौ चलचित्रकर्मीहरुले दयाराम दाहाल अध्यक्ष हुनुपर्ने धारणा राखेका छन् ।