बजारका भित्ता–भित्तामा टाँसिने पोष्टरका भरमा सिनेमा हिट हुन्थे


काठमाडौं । कुनै समय नेपाली सिनेमामा अभिनेता रमित ढुंगानाले राम्रो स्थान बनाएका थिए । तर पछिल्ला वर्ष उनि सिनेमाबाट केही टाढा रहे । यद्यपी, अहिले रमितले सिनेमा ‘राजासाहेब’बाट कमब्याक गरिसकेका छन् । यो सिनेमा हाल छायांकनमा छ ।

रमितको उदय सिनेमामा त्यो समयमा भयो, जतिबेला अहिलेको जस्तो प्राविधिक विकास थिएन् । सामाजिक सञ्जालको यो विकसित रुपको त मानिसले कल्पना समेत गरेका थिएनन् । मिडियाको पनि यति विकास भईसकेको थिएन् । सिनेमा पब्लिसिटी भनेकै बजारका भित्ता–भित्तामा टाँसिने पोष्टर थियो । रमित सम्झन्छन् –‘शुक्रबार रिलिज हुने सिनेमाको बिहीबार खम्बामा पोष्टर टाँसिन्थ्यो । पोष्टर हेरेरै दर्शकहरु हलसम्म पुग्नुहुन्थ्यो । सिनेमा हल हाउसफूल हुन्थ्यो ।’ त्यो समय पोष्टरमा देखिने टाउको हेरेर दर्शक हलसम्म ओइरिन्थे । पोष्टरकै आधारमा रमितका कति सिनेमाले ५१ दिन मनाएका थिए ।

अहिले समय फेरिएको छ । उनि भन्छन्, ‘अहिले कतिपय सिनेमाका कलाकारहरु मलमा गएर नाचिरहेको हुनुहुन्छ । वानेश्वरजस्तो चोकमा नाच्नुहुन्छ । देश दौडाहा भइरहेको हुन्छ । तरपनि जति सिनेमा चल्नुपर्ने हो, चलिरहेको छैन ।’

उनको बुझाइमा अहिलेका सिनेमामा कथा अब्बल छैन् । प्रविधिमा त्यो समय पछाडी भएपनि कथामा पुराना सिनेमा अब्बल रहेको रमित बताउँछन् । ‘नेपाली सिनेमा यहाँ आउनुको पछाडि प्रविधि हो । कथावस्तुले आएको म मान्दिन’– उनी भन्छन् । उनी सिनेमामा नयाँ प्रतिभावान कलाकार भित्रिँदै आएकोमा भने खुसी देखिन्छन् ।

यद्यपी कलाकार र प्रविधिले मात्र सिनेमा नचल्ने बताउँदै सर्वप्रथम सिनेमाको कथा नै बलियो हुनुपर्ने रमित बताउँछन् ।