५० घोडा, ३ सय फौज सहित ‘नालापानी’ छायांकनमा


सेलेब्रिटी नेपाल काठमाडौँ

ऐतिहासिक विषयमा निर्माण भैरहेको चलचित्र ‘नालापानी’को छायाँकन राजधानीमा चलिरहेको छ । नारायणहिटी दरबार संग्रहालयको उत्तरमा अवस्थीत नेपाल आर्मीको गोरख गण मैदानमा सेट लगाएर चलचित्रको युद्द सिन छायाँकन गरिएको छ । जहाँ पचास घोडा र करिब ३ सय फौज हतियारसहित मैदानमा उतारियो । नेपाल आर्मीबाट प्राप्त घोडा र फौज नेपालीसँग युद्द लड्न आउँदै गरेका अंग्रेजहरुको दृश्य थियो । जुन दृश्यमा रिमेश अधिकारीले एक्सनकट भनिरहेका छन् । यो दृश्यलाई भिएफएक्स मार्फत हजारौको फौजमा रुपान्तरण गरिने निर्देशकले अधिकारीले जानकारी दिए । दृष्य खिच्न ५ ओटा क्यामरा प्रयोग गरिएका थिए ।

निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथ बीना यस्तो प्रकारले सिनेमा छायांकन सम्भव नभएको बताए । ‘नेपाल आर्मीले हामीलाई दिएको सहयोगप्रती कृतज्ञ छौँ । सम्भवत नेपालमा कुनै पनि सिनेमा यस प्रकारले छायांकन गरिएको थिएन, यो सबै नेपाल आर्मीकै देन हो’ । सिनेमाका निर्माता मनोज शाक्यले नेपालीको विर गाथासँग जोडिएको सिनेमा लाई नेपाल आर्मीले साथ दिएकोमा खुशी व्यक्त गरे ।

काठमाण्डौ र आसपासमा छायांकन सकिएपछि चलचित्र यूनिट उपरदाङ्ग गढी पुग्ने बताईएको छ । निर्देशक अधिकारीका अनुसार चलचित्रको छायांकन करिव तीन महिनासम्म लगातार चल्नेछ । सन् १८१६मा ब्रिटिश अंग्रेजले आफ्नो साम्राज्य फैलाउने क्रममा नेपालको पश्चिम दक्षिणमा रहेको ‘नालापानी‘मा आक्रमण गरेको थियो । त्यस बखत नेपालको तर्फबाट सिमित स्रोत साधन र सिपाहीका साथ युद्द मैदानमा उत्रिएका कप्तान वीर बलभद्र कुँवरले पराजय भोगेका थिए । तर, पनि नेपालीले देखाएको वीरता प्रति ब्रिटिश सैनिकले प्रशंशा गर्दै बलभद्र कुँवरको बहादुरी प्रति विश्वभर चेतना फैलाएको थियो । नेपालले पराजय भोगेको ‘नालापानी‘ नेपाल-भारतको सुगौलि सन्धी पश्चात अहिले भारतको देहरादुनमा पर्छ ।

यसै बिषयमा प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहेर ‘नालापानी’ बनिरहेको छ । चलचित्रमा मनोज शाक्य र नितिशा शाक्यको लगानी रहेको छ ।

पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बनिरहेको चलचित्रमा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, बिपिन मल्लको सम्पादन, अच्युत गजुरेलको भिएफएक्स र रामशरण उप्रेतीको छायाँकन रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.