सेलिब्रेटी नेपाली काठमाडौँ
शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ ले शनिवार सिंगल र मल्टिप्लेक्स सबैतिर हाउसफूल व्यापार गरेको छ । चलचित्र शनिवार बिहानैदेखि काठमाडौं तथा मोफसलका प्रायः सबै स्टेशनमा हाउसफूल छ । ‘चलचित्रप्रति दर्शकले दिएको माया र साथबाट उत्साहित छु’, निर्देशक प्रदीप भट्टराईले भने, ‘राम्रो चलचित्र बनाए चल्छ भन्ने कुरा प्रमाणित भएको छ ।’ शनिवार बिहानैदेखि राजधानीका विभिन्न हल चहारिरहेका अभिनेता पल शाह, निर्माता तथा कलाकार किरण केसी, अभिनेत्री आँचल शर्मा, प्रियंका कार्की, दीपाश्री निरौला, बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य दर्शक प्रतिक्रियाबाट खुसि देखिन्थे ।
दिउँसो साढे १ बजे गोपीकृष्ण हलमा चलचित्रका कलाकारको क्रेज कमालको देखिन्थ्यो । निकैबेर पल र आँचलसहित अन्य कलाकारलाई दर्शकसँग फोटो खिच्न र अटोग्राफ दिन भ्याई नभ्याई देखियो । मल्टिप्लेक्स र सिंगल दुबैथरी दर्शकले उक्त चलचित्र लाई राम्रो भनेका छन् । चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।