पशुपति शर्मा भन्छन्, :- अब त आफू गायक भन्ने नै बिर्सिएजस्तो लाग्न थाल्यो


काठमाडौं। केही जिल्लामा मेला–महोत्सव हुँदै थियो। त्यतिबेला नेपालमा कोरोना भाइरसको त्रास त्यति देखिएको थिएन्।

गायक पशुपति शर्माले भने केही समयका लागि स्टेज कार्यक्रममा नहिँडने घोषणा गरिसकेका थिए। पछि सरकारले भीडभाडका कार्यक्रम नगर्न/भीडभाडमा नआन आग्रह गर्यो। सोही समय कोरोना भाइरससम्बन्धि सचेतनामूलक गीत सार्वजनिक गरे। बाहिरी देशको अवस्था हेर्दा आफूहरु सचेत हुनुपर्ने औल्याए। पशुपतिले लख काटिसकेका थिए, लब लकडाउन हुन्छ। र, चैत ७ गते परिवारसहित घर स्याङ्जा लागे। नभन्दै ११ गतेदेखि देशमा लकडाउन घोषणा भयो।

त्यसयता आफ्नो पुर्खौली थलो स्याङजामा छन् पशुपति। लकडाउनको समय परिवारका साथ रमाईलोसँग बिताईरहेको उनी बताउँछन्। गायक पशुपतिले आफ्नो दैनिकीसंगै लकडाउन अनुभव सेलिब्रेटी नेपालसँग साटेका छन्।

पारिवारिक माहोल :
अघिपछि चाहेर पनि परिवारसंग यसरी बस्ने अवसर कहाँ मिल्थ्यो पशुपतिलाई। गीत रेकर्डिङ्, छायाँकन, देश–विदेशका स्टेज कार्यक्रम, भेटघाट, अन्तर्वाता। सधै व्यस्त दैनिकी। चाडपर्वमा मात्रै घर आउने छोरोलाई आफूसंगै पाउँदा अहिले बुवाआमा दंग छन्। पशुपति पनि परिवारसंग खुःसी छन्, पारिवारिक वातावरणमा रमाईरहेका छन्। श्रीमती, बुवाआमालाई घरायसी काममा सघाउँछन्। कहिले आमासंग घाँस काट्न खरबारी पुगे। गीत गुनगुनाउँदै आमाछोरा घाँस काटे। कहिले तरकारी रोप्न बारीमा छिरे।

टेलिफोन वार्तामा सुनाए, –‘करिअर बनाउन काठमाडौं जानुअघि गाउँमा जे–जे काम गर्थे। अहिले ति कामहरु गरिरहेको छु। पुराना दिनहरु ताजा भएका छन्। पुराना दिनमा फर्किएजस्तो लागेको छ।’

गायक भन्ने विर्सेर बसेको छु !
केही गायक/गायिकाले लकडाउनको फुर्सदिलो समयमा गीत सिर्जना गरे। तर, पशुपतिले बलियो सिर्जना गर्न नसकेको बताउँछन्। उनी भन्छन्, –‘घरमा बस्दा गीत त गुनगुनाएको हुन्छु। तर, रियाज नगरेको, कार्यक्रम नभएको धेरै भयो। त्यसैले स्वर पनि विग्रिएजस्तो लाग्छ। गीत सिर्जना गर्न प्रयास त गरेको हुँ, तर भएन्। यस्तो बेला बलियो सिर्जना हुँदोरहेछन्। त्यसपछि सिर्जनातर्फ ध्यान नै दिएको छैन्। हिजोआज त आफूलाई म गायक हुँ भन्ने नै बिर्सिएजस्तो लाग्न थालेको छ।’

टिकटक :
फुर्सदमा पशुपति टिकटकमा रमाउन थालेका छन्। कहिले आमासंग घाँस काट्दै गरेको भिडियो टिकटकमा पोष्ट गर्छन्, त कहिले परिवारका सदस्य मिलेर नाचेको। ‘टिकटक अकाउण्ट श्रीमती र छोरीले खोलिदिएका हुन्। हेर्न पनि रमाईलो हुने्, समय वितेको पनि पत्तै नहुने’– उनी भन्छन्।

ध्यान र योगा :
हिजोआज आफ्नो स्वास्थ्यलाई लिएर सचेत हुन थालेका छन्, उनी। पहिले कार्यक्रमको दौडधुप हुन्थ्यो, स्टेजमा नाँचेर पसिना छुटाउँथे। हिजोआज खायो, आराम गर्यो गर्दा ज्यान बढ्ला भन्ने चिन्ताले विहान केही समय व्यापाम गर्न थालेको बताउँछन्। त्यस्तै उनी बिहानमा केही समय ध्यान गर्नमा विताउँछन्। योगा गर्न पनि सिकिरहेको उनले बताए।

फिल्म हेर्दिन् :
धेरैले लकडाउनमा फिल्म हेर्ने, पुस्तक पढने गरेको बताउँछन् । तर, पशुपतिलाई फिल्ममा उत्ति रुचि छैन्। बरु पुस्तक पढ्न रुचाउँछन्। ‘फिल्म १०/१५ मिनेट हेरँे भने आत्तिन्छु। साहित्यिक पुस्तकहरु बोकेर ल्याउनुपर्ने, तर यति धेरै बन्द नहोला भनेर बोकिन्।’ अहिले गाउँमै पुस्तकहरु खोजिरहेको उनी बताउँछन्।

तीज गीत रेकर्ड होलाजस्तो लागेन्
अहिले तीज गीत गाउने सिजन हो। पशुपतिले विगतमा जेठमा तीज गीत रेकर्डिङ गर्थे। असारमा त्यसको म्युजिक भिडियो छायाँकन हुन्थ्यो। तर, यसवर्ष तीज गीतको रेकर्डिङ् सम्भव हुने छाँट नदेखेको बताउँछन्।

आर्थिक चिन्ता :
घरको बसाई लामो भैसकेको छ। अब उनलाई आर्थिक चिन्ता लाग्न थालेको छ। कोरोना महामारी कहिले समाप्त हुने हो? उद्योग, कलकारखाना त कोरोनाको महामारी सकिनासाथ सुरु होलान् तर स्टेज कार्यक्रम (सांगीतिक कार्यक्रम) एक वर्ष पछिसम्म नहुने आँकलन गर्छन् पशुपति। ‘आर्थिक हिसावले म जस्ता कलाकारहरुलाई धेरै पछाडि धकेल्छ। हिजोआज त्यसबारे चिन्ता लाग्न थालेको छ। त्यसका लागि हामी कलाकारहरु मनोवैज्ञानिक रुपमा तयार हुनुपर्छ’–उनी भन्छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.