रामकृष्णले अमेरिकामा जुटाए १८ लाख सहयोग



काठमाडौँ। गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीका लागि १८ लाख रुपैयाँ सहयोग जुटाएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका रामकृष्ण उतै रोकिएका छन् । उनले त्यहाँ रहेका नेपाली तथा नेपाली भाषी भुटानीहरुसँग अपिल गरेर उक्त रुपैयाँ सहयोग जुटाएका हुन् ।

नेपालमा विषम परिस्थिति हुँदा आफू अमेरिकामै रोकिएपनि त्यही रहेरै भएपनि केही सहयोग पुर्याउन सकिन्छ कि भनेर केही दिनदेखि अमेरिकामा रहेका स्रोता एवं दर्शकमाझ सहयोगको आब्हान गरेका थिए ।

‘मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खुला ह्दयले सहयोग गर्नुभएको छ’ उनले सामाजिक सञ्जालमा भनेका छन् । सो क्रममा पहिलो चरणमा जम्मा भएको करिब १८ लाख रुपैयाँ महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा जम्मा गरिएको रामकृष्णले जानकारी दिएका छन् ।