नारायण रायमाझीको ‘बसन्ती’ मा खेम र टेरिया

असोज ३ गते देखि सिनेमाको छायांकन सुरु गरिने


काठमाडौँ। निर्माता तथा निर्देशक नारायण रायमाझीले नयाँ नेपाली सिनेमा ‘बसन्ती’को निर्माण घोषणा गरेका छन् । शुक्रबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको हो ।

यसअघि पनि ‘बसन्ती’ नाममा सिनेमा निर्माण भइसकेको छ । २०५७ सालमा नीर शाहले यही नाममा सिनेमा निर्देशन गरेका थिए । उक्त सिनेमा उपन्यासकार डायमण्ड समशेर राणाको उपन्यास ‘बसन्ती’मा आधारित थियो । उक्त सिनेमा प्रदर्शनको २६ वर्षपछि सोही नाममा नारायण रायमाझीले नयाँ सिनेमा निर्माण गर्न लागेका हुन् ।

असोज ३ गते शनिबारदेखि सिनेमाको काठमाडौं सेड्युलको छायांकन सुरु गरिने निर्देशक रायमाझीले बताए । सिनेमा काठमाडौं, पाल्पा, जनकपुर र बुटवलसँगै भारतका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ ।

रिमा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने सिनेमा ‘बसन्ती’मा खेम सेन्चुरी र टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन् । उनीहरूका साथै सिनेमामा सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल, हरि अधिकारीलगायत कलाकारको अभिनय रहनेछ ।

निर्देशक रायमाझीले नै लगानी गर्ने सिनेमाको कथा रमेश बिजिले लेखेका हुन् । सिनेमा छायांकन शिव ढकालले गर्नेछन् । नहकुल खड्काले सम्पादन गर्ने सिनेमामा रोशन विश्वकर्मा र रविता मगरको कोरियोग्राफी रहनेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.