विजय लामालाई अत्याएको थियो कोरोनाले, हल्का रुपमा नलिन सुझाव


काठमाडौं । वरिष्ठ क्याप्टेन तथा थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका वरिष्ठ कलाकार विजय लामा यतिखेर कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् । उनलाई गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले उनी अस्पतालको आईसोलेसनमा उपचाररत छन् ।

कोरोना पुष्टि भएसंगै थुप्रै चलचित्रकर्मीहरुले क्याप्टेन तथा कलाकार लामाको स्वास्थ्य लाभको कामना गर्दै तस्वीरहरु पोष्ट गरिरहेका छन् । केही चलचित्रकर्मीहरु उनको नियमित सम्पर्कमा समेत रहेका छन् ।

क्याप्टेन लामासँग नियमित सम्पर्कमा रहेका चलचित्रकर्मीहरुका अनुसार कोरोनाले उनलाई निकै अत्याएको थियो । कोरोना पुष्टि भएको बिहानपख आफन्त तथा शुभचिन्तकलाई ठिक छु, आत्तिनुपर्दैन भनेका लामाको स्वास्थ्यमा सोही दिन साँझपख गम्भीर समस्या देखियो । उनमा अत्याधिक ज्वरो आउने, स्वाद थाहा नपाउने, श्वास प्रश्वासमा समस्या देखिएको थियो । ‘लक्किली समयमा उपचार पाएँ । समयमा उपचार नपाएको भए, जेपनि हुन सक्ने रहेछ । कोरोनाले मलाई केही समय निकै अत्याएको थियो’– क्याप्टेन लामाले निर्देशक मिलन चाम्ससँग बिहीबार दिउँसो भनेका थिए । क्याप्टेन लामाको स्वास्थ्यमा अहिले भने सुधार छ ।

निर्देशक चाम्सले बिहीबार नै सामाजिक सञ्जालमा ‘खुसीको खबर’ भन्दै क्याप्टेन लामा ठूलो खतराबाट बाहिर निस्किएको उल्लेख गरेका छन् । मिलनका अनुसार, कोरोनालाई बजारमा हल्ला भएजस्तो सामान्य रुघाखोकीको रुपमा लिन नहुने क्याप्टेन लामा सुझाव दिन्छन ।

‘कोरोना केही रहेनछ, सामान्य रुवाखोकी मात्र हो भन्ने हल्ला पनि सुनिन्छ’ निर्देशक चाम्सले सेलिब्रेटी नेपालसंग भने,‘उहाँ नियमित व्यायाम गरिरहने व्यक्तिलाई पनि त्यसरी अत्याउँदो रहेछ । त्यसैले यसलाई कसैले पनि सामान्य नलिऔं, सचेत रहौं । स्वास्थ्य सुरक्षा सावधानी अपनाउन नर्बिसौं । उहाँको सुझाव पनि त्यही छ ।’