संगीताको चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलमा छनौट



काठमाण्डौ। यौन उत्पीडनलाई बिषय बनाएर चलचित्र ‘कथा काठमाण्डु’ निर्देशन गरेकी संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’मा छनौटमा परेको छ । यो चलचित्र फेस्टिभलको पहिलो दिन नोभेम्वर ३ मा प्रदर्शन हुँदैछ । यो चलचित्र बाल यौन शोषणमाथि आधारित छ ।

यो फेस्टिभल नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुँदैछ । कोरोना महामारीका कारण भर्चुअल रुपमा हुने फेस्टिभलमा पहिलो दिन नै आफ्नो चलचित्र स्क्रिनिंग हुने भएको श्रेष्ठले बताईन् । ‘अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनौट हुँदा एकदम खुशी छु,’ उनले भनिन्, ‘मैले उठान गरेको विषय संसारभर पुग्दैछ । निकै उत्साहित पनि छु ।’

सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा यो चलचित्रले बोल्छ । समाजको अँध्यारो पक्षलाई समेटेर आफुले चलचित्र बनाएको बताउँदै श्रेष्ठले भन्छिन्, ‘यो फेस्टिभलले पनि समाजको अँध्यारो पाटो उजागर गर्ने चलचित्रहरु खोजेको थियो । आइसक्रिम’ले हाम्रो समाजका छोरीहरु बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ । हाम्रा छोरीहरुलाई हामीले यस किसिमको अपराधबाट बचाउनुपर्छ भन्ने उद्देश्यले चलचित्र बनेको छ ।’

श्रेष्ठका अनुसार यो चलचित्र अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा छनोट भइसकेको छ । यद्यपी पहिलो स्क्रिनिंग भने ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा हुने भएको हो ।

नौ मिनेट लामो चलचित्रमा भूमिका योगिशा खत्रीले मूख्य भूमिका निभाएकी छन् । निर्देशक श्रेष्ठ संचारकर्मी समेत हुन् । उनले एक फिचर फिल्म ‘कथा काठमाण्डु’ साथै सयौँ म्यूजिक भिडियोहरु, वृत्तचित्रहरु तथा लघु चलचित्रहरु निर्देशन गरेकी छन् ।