साम्राज्ञी नयाँ म्युजिक भिडियोमा देखिँदै



काठमाडौँ। नेपाली चलचित्रमा पछिल्लो समय नम्बर वान नायिकाको रुपमा परिचित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले म्युजिक भिडियोमा खासै काम गरेकी छैनन् । अभिनेत्री शाहले नयाँ एक गीतको भिडियोमा काम गर्ने भएकी छन् । निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नव कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन शेयर गर्ने भएकी हुन ।

ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘चिना टिप्पन’ बोलको गीतको म्युजिक भिडियो छिट्टै नै छायाँकनमा जाने भएको छ । गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतको शब्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोको छायाँकन काठमाडौँका विभिन्न स्थानमा गरिने छ । भिडियोलाई ट्री मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत एक कार्यक्रमका बीचमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । शाह र निर्माण पक्षबीच सम्झौतापश्चात साम्राज्ञी दुई नव कलाकारले फोटो शुट गरेका छन् ।