रविकी श्रीमती निकिताको उजुरी प्रहरीले लिन अस्वीकार


सेलिब्रेटी नेपाल

काठमाडौँ: आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धानमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध प्रमाणहरु तोडमोड गरेको अभियोगमा रविकी श्रीमती निकिता पौडेलले तीन जनाविरुद्ध दिन खोजेको उजुरी प्रहरीले लिन अस्वीकार गरेको छ । निकिताले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन गएकी थिइन् ।

प्रहरीले यो उजुरी सरकारी वकिल कार्यालयमार्फत आउनुपर्नेमा सिधै आएको भन्दै यसरी उजुरी लिन आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जवाफ दिएर निकितालाई फर्काएको छ । निकिताका कानुन व्यवसायी राजेन्द्र सेढाइका अनुसार प्रहरीले फर्काएपछि निकिता जिल्ला सरकारी वकिलको कार्यालयतर्फ गएकी छिन् । निकिताले चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज डटकमका संकेत कोइरालाविरुद्ध प्रमाण तोडमोड गरेको भन्दै उजुरी दिन चाहेकी थिइन् । उनीहरुले मृतक शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो तोडमोड गरेको आरोप छ ।