विकास सुवेदीको ‘शिरजरा’ टोकियोको प्रतिष्ठित चलचित्र बजारमा छनोट


काठमाडौँ। नेपाली चलचित्रका लागि अन्तर्राष्ट्रिय मञ्चमा अर्को सुखद उपलब्धि थपिएको छ। निर्देशक विकास सुवेदीको नयाँ चलचित्र ‘शिरजरा : द सङ्ग अफ ग्रान्डमदर’ जापानमा आयोजना हुने प्रतिष्ठित टोकियो ग्याप फाइनान्सिङ मार्केटमा छनोट भएको छ।

टोकियो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत आयोजना हुने यस चलचित्र बजारमा विश्वभरबाट प्राप्त सयौँ आवेदनमध्ये उत्कृष्ट २४ चलचित्र छनोट गरिएको हो। ती २४ चलचित्र मध्ये नेपालसहित सम्पूर्ण दक्षिण एसियाबाट ‘शिरजरा’ एक्लो प्रतिनिधि बनेको निर्माण पक्षले जनाएको छ।

टोकियोको उक्त बजारमा ‘शिरजरा’सँगै कान्स, बर्लिन र भेनिसजस्ता विश्व प्रतिष्ठित चलचित्र महोत्सवमा आफ्नो प्रभाव छोडिसकेका निर्देशक तथा निर्माण कम्पनीका परियोजनाहरू पनि छनोट भएका छन्। सूचीमा कान्समा पुरस्कार जितेका सिंगापुरका निर्देशक जुनफेङ बु, कान्स तथा भेनिसमा स्थापित कजाकिस्तानका निर्देशक आदिलखान येर्जानाभ, कान्स विजेता फिल्म ‘टाइगर स्ट्राइप्स’ निर्माण गर्ने इन्डोनेसियाली कम्पनी कावानकावान मिडिया, भेनिसमा चर्चित भियतनामी निर्देशक डिएप नुएन होआङ तथा बर्लिनमा फिल्म प्रस्तुत गरिसकेका ब्राजिलियन निर्देशक माथियास मारियानीका परियोजना छन्।

यस्ता अन्तर्राष्ट्रिय रूपमा स्थापित फिल्मकर्मीका परियोजनासँगै नेपाली निर्देशक र नेपाली चलचित्र एउटै प्रतिष्ठित सूचीमा समेटिनुलाई नेपाली चलचित्र उद्योगका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

टोकियो ग्याप फाइनान्सिङ मार्केटमा छनोट भएसँगै ‘शिरजरा’को टोलीले अन्तर्राष्ट्रिय वितरक, लगानीकर्ता तथा युरोपेली सह-निर्माताहरूसँग प्रत्यक्ष भेटघाट गरी चलचित्रको निर्माण, सहकार्य र विश्वव्यापी प्रदर्शनका सम्भावनाबारे छलफल गर्ने अवसर पाउनेछ।

आधुनिक प्रविधि र हिमाली–पुर्ख्यौली चेतनाबीचको सम्बन्धलाई कथाको आधार बनाएको ‘शिरजरा’को यो अन्तर्राष्ट्रिय छनोटले नेपाली चलचित्रलाई विश्व सिनेमाको नयाँ दायरामा पुर्‍याउने अपेक्षा गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.