‘प्रेम गीत ३’ क्यारेक्टर पोष्टरमा यस्तो देखिए शिव श्रेष्ठ


सेलिब्रेटी नेपाल

काठमाडौँ: यसबर्षको बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘प्रेमगीत ३’का कलाकार अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो फेसबुक मार्फत पोष्टर सार्वजनिक गर्दै चलचित्र बारे थप जानकारी दिएका छन् । सार्वजनिक पोष्टरमा शिव श्रेष्ठलाई निकै फरक अवतारमा देख्न सकिन्छ । अभिनेता शिवलाई पोष्टरमा राजाको भूमिकामा देख्न सकिन्छ ।

सन्तोषले ‘प्रेमगीत ३’को छायांकनको आधा भाग सकिएको पनि जानकारी दिएका छन् । गएको चार महिना लगाएर काठमाडौंको किर्तिपुरमा तयार पारिएको भब्य सेटमै चलचित्रको आधा छायांकन गरिएको छ । उनले अब बाँकी छायांकन काठमाडौं बाहिर गरिने जानकारी दिएका छन् । साथै चलचित्र युनिट छायांकनका लागी मनाङ प्रस्थान गरिसकेको समेत सन्तोषले जानकारी गराएका छन् । यसअघि चलचित्रका मुख्य अभिनेता प्रदीप खड्काको लुक्स सहितको मोसन पोष्टर सार्वजनिक गरिएको थियो ।

चलचित्रमा प्रदीपसँगै नवनायिका क्रिस्टिना गुरुङ र मनिष राउतको मुख्य भूमिका रहनेछ । दुईसय वर्ष पुरानो प्रेमकथामा बन्ने यो चलचित्र छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । प्रदीप र क्रिस्टिनाका साथै चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार शान सेन सहनिर्मातामा छन् । चलचित्र नयाँ बर्षको अवसरमा चैत्र २८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ।