‘पोइ पर्‍यो काले’ अमेरिका राइट्स बिक्रि


सेलिब्रेटी नेपाल

काठमाडौँ: अहिले नेपाली निर्माताले लगानी उठाउन घरेलु बजारको मात्र भर पर्नुपर्ने अवस्था छैन । फिल्म राम्रो बने ओभरसिज राइट्सबाट पनि निकै राम्रो मुल्य हात पार्न सकिन्छ । आजभोली गिने चुनेका ब्यानर र ठूला स्टारका फिल्म प्रायः निर्माण अगावै विदेशमा बिक्री हुन्छन् । केही चलचित्र भने नेपाल प्रदर्शनपछि व्यापार र दर्शक प्रतिक्रियाको आधारमा विदेशमा बिक्री हुने गरेका छन् ।

यसबीच, कात्तिक ८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पोइ पर्‍यो काले’ को अमेरिका राइट्स महँगो मुल्यमा बिक्री भएको छ । हाल छैठौं हप्तामा प्रदर्शनरत यो चलचित्रको आत्रेय प्रोडक्सनका सुदीप आत्रेय र किरण घिमिरे (माइकल) ले २५ लाखमा अमेरिका राइट्स खरिद गरेका छन् । शुक्रबार निर्माता किरण नेपालले आत्रेय प्रोडक्सनलाई चलचित्रको अमेरिका राइट्स बिक्री गरेका हुन् ।

अमेरिकामा ठूलो माग भएका कारण चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको वितरक घिमिरेले बताए । त्यस्तै, निर्माता नेपालीले ‘पोइ पर्‍यो काले’ को अहिले विदेशमा निकै राम्रो माग रहेको भन्दै खुसी व्यक्त गरे । राम्रो चलचित्र बनाएको खण्डमा लगानी उठाउन गाह्रो नहुने उनको भनाई छ । घरेलु बजारबाटै आफ्नो लगानी सुरक्षित भएको बताउँदै उनले चाँडै नयाँ फिल्म घोषणा गर्ने बताए ।