नेपालकी पुनमले बनाउँदैछिन् बलिउड फिल्म



काठमाडौँ। संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउड भारतीयझैँ नेपाली कलाकारका लागि पनि सपना हो । बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो छ । केही कलाकारले बलिउडमा आफ्नो राम्रो छाप पनि छाडेका छन् । तर, त्यहाँ गएर मेकिङमा लागेका नेपालीहरु भने थोरै मात्र छन् । किनकि, बलिउड फिल्म बनाउन सानोतिनोले लगानी हुँदैन ।

तर, एक नेपाली महिला बलिउड फिल्म निर्माण गर्न कस्सिएकी छन् । देशसँगै विदेशका विभिन्न ठाउँमा आफ्नो व्यवसाय फैलाइसकेकी पुनम यादवले ठूलो बजेटमा बलिउड फिल्म बनाउन लागेकी हुन् । नेपालको तराई भेगमा जन्मिएकी उनी चाँडै आफ्नो पहिलो बलिउड फिल्मको घोषणा गर्ने तयारीमा छिन् । अहिले भारतमै स्क्रिप्ट लेखनको काम भइरहेको उनले जानकारी दिइन् ।

आफूले बनाउन लागेको पहिलो बलिउड फिल्ममा नेपाली कलाकारहरुलाई पनि अवसर दिने पुनमको भनाई छ । नेपाली कलाकारलाई संसारभर चिनाउनु नै आफ्नो उद्देश्य रहेको उनी बताउँछिन् । पुनम बलिउडसँगै नेपाली फिल्म निर्माणको तयारीमा समेत रहेकी छन् । उनको पहिलो नेपाली फिल्मलाई ‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्नेछन् ।

पुनम बलिउड र नेपाली फिल्म निर्माणको तयारीमा भए पनि उनले निर्माण गरेको एक हिन्दी गीत भने सार्वजनिक भइसकेको छ । दुई हप्ता अगाडि भारतको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘इबादत बन गए हो’ बोलको गीतलाई पुनमले निर्माण गरेकी हुन् । गीतमा नेपाली गायिका स्मिता दाहाल र भारतका चर्चित गायक शबाब साबरीले स्वर रहेको छ ।

यूट्युब रिलिजको दुई हप्तामा चार लाखभन्दा बढी भ्यूज बटुल्न सफल भएको गीतलाई दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया मिलेको छ । गीतको भिडियोमा गायिका स्मिता आफैं फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका चर्चित कलाकार अर्जुन बिज्लानीसँग बाँधिएको छ । रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ ।

‘इबादत’ गीतलाई दर्शकले रुचाएपछि पुनमले अर्को पनि हिन्दी गीत निर्माण गरेकी छन्, जुन दशैंको छेकोमा भारतको ‘टि सिरिज’ कम्पनीको यूट्युब च्यानलबाट सार्वजनिक हुनेछ । मनोरञ्जन क्षेत्रमा मधेशका महिलाको सहभागिता बढाउने उद्देश्य बोकेर फिल्म र गीत निर्माणमा होमिएकी पुनम नेपालको राजनीतिमा पनि सक्रिय रहेकी छन् । उनी एक सफल ‘विजनेश वुमन’ पनि हुन् ।