नाटक ‘बोक्सीको घर’ अब चलचित्रको पर्दामा



काठमाडौँ। बि.सं. २०७३ को साउन/भदौमा मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको नाटक ‘बोक्सीको घर’ अब चलचित्र बन्ने भएको छ । त्यतिबेला नाटकमा अभिनेत्री सरीता गिरीको एकल अभिनय रहेको थियो । करिब एक महिना मञ्चन भएको नाटकका लेखक तथा निर्देशक सुलक्षण भारती हुन्।

उनै सुलक्षण भारतीको लेखनमा निर्माण गर्न लागिएको चलचित्र ‘बोक्सीको घर’लाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त निर्देशन गर्ने भएका छन् । केकी अधिकारी फिल्मसले निर्माण गर्ने चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारी पनि मूख्य भूमिकामा रहनु हुनेछ । चलचित्रका अन्य पात्रहरुका लागि कलाकारहरुको छनौट हुँदैछ । त्यसका लागि आगामी साता खुला अडिशन कल गरिनेछ ।

विगत डेढ महिनादेखि वर्कसप र प्रिप्रोडक्सन भई रहेको छ । चार महिनाको वर्कसपपछि चलचित्रको छायांकन थालिनेछ । यथार्थपरक चलचित्रको रुपमा निर्माण हुन गइरहेको चलचित्र बोक्सीको घरमा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनाहरूमा आधारित रहने निर्माण टिमले जानकारी गराएको छ ।

चलचित्र ‘बोक्सीको घर’लाई वरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्दै छन भने चलचित्रको कार्यकारी निर्माता विशाल भण्डारी हुन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ र टेलिभिजन कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’पछि यो टिमले तेश्रो प्रोजेक्टका रूपमा चलचित्र ‘बोक्सीको घर’ निर्माण गर्न लागेको हो ।