माउन्ट एभरेस्ट फेसन रनवे काठमाडौंमा



काठमाडौं। सन् २०२४ सम्म नेपाललाई दिगो फेसनको राजधानी बनाउने उद्देश्यले सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेको अर्को संस्करण काठमाडौंमा सम्पन्न भएको छ ।

शुक्रबार राती सोल्टी क्राउन प्लाजामा संसारका १० देशका १३ जना सुपरमोडलले रनवेमा प्रस्तुति दिए । फेसन डिजाइनर रमिला नेमकुलको डिजाइनमा बुद्धिस्ट फेसन लाइन सार्वजनिक गरियो ।

कासाकै डिजाइनमा आगामी फल र विन्टर सिजनका लागि लाइन सार्वजनिक गरियो । पस्मिनालाई प्राथमिकता दिएर गरिएका डिजाइनमा नन-भायोलेन्स सिल्क प्रयोग गरिएको छ । आउँदो सिजनका लागि कोटहरु प्रस्तुत गरियो । गौतम बुद्धको अहिंसा परो धर्मको दर्शनलाई आफ्ना डिजाइनमा बुनिएको नेमकुलले बताइन् ।

जहाज पाइलट तथा अभिनेता विजय लामा सो-स्टपर बनेको रनवेको फ्रन्टलाइनमा पर्यटन बोर्डका पदाधिकारी, कलाकार, मिस नेपाल, मिस युनिभर्स, कूटनीतिज्ञ, फेसन डिजाइनरहरु सहभागि थिए ।

कासाले वर्षमा दुईपटक फेसन रनवे गर्ने योजना बनाएको । ‘सन् २०२४ सम्म नेपाललाई दिगो फेसनको हब बनाउने हाम्रो उद्देश्य हो’ गिनिज विश्व रेकर्डमा नाम लेखाइसकेकी डिजाइनर नेमकुलले भनिन्, ‘नेपालमा फेसन पर्यटक भित्राउने हाम्रो योजना छ । साथै, हामी फास्ट फेसनलाई पनि रोक्न चाहन्छौं ।’

फास्ट फेसनलाई विश्वकै दोस्रो प्रदूषित उद्योग मानिने बताउँदै उनले आफूहरु दिगो फेसनको पक्षमा रहेको बताइन् । दिगो फेसनमा काम गर्ने अन्तर्राष्ट्रिय ब्रान्डलाई नेपाल भित्राउन आफूहरुले काम गरिरहेको उनले बताइन् ।