‘यहाँ नेपोटिज्म र नेप्टोइज्म केही छैन ग्रुपिज्म छ’ निर्देशक चाम्स



सेलिब्रेटी नेपाल । अभिनेत्री कंगना रनावतले बलिउडमा व्याप्त नातावादका कारण अभिनेता सुशान्त सिंह राजपूत डिप्रेसनमा पुगेको र त्यही कारण आत्महत्या गरेको अभिव्यक्ति दिएपछि अहिले बलिउडमा नातावादको विषयमा एकपटक फेरि बहस चर्किएको छ । यसको असर नेपाली चलचित्र क्षेत्रमा पनि देखिएको छ । केही सेलिब्रेटीहरु नेपाली चलचित्र क्षेत्रमा पनि नातावादको असर छ भन्दै विरोध गरिरहेका छन् ।

गएको तीन दिनअघि अभिनेत्री नम्रता सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट्याउँदै नेपाली चलचित्रमा मौलाएको नातावादले प्रतिभावान व्यक्तिहरु पछाडि परिरहेको र यसका कारण धेरै कलाकारहरु डिप्रेसनको शिकार भएको बताएकी थिइन् । उनको समर्थन गर्दै अभिनेत्री वर्षा सिवाकोटीले फेसबुकमा स्टाटस लेख्दै आफूले पनि यी कुरा भोगेको बताइन् ।

तर, उनीहरुको भनाईमा थोरै चलचित्रकर्मीले मात्र समर्थन जनाएका छन् । कतिले चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ नभएर ‘ग्रुपिज्म’ को समस्या रहेको बताएका छन् भने कतिले यी दुवैखाले विषयमा भिन्न मत राखेका छन् । चलचित्र निर्माता तथा निर्देशक मिलन चाम्स ‘नेपोटिज्म’ र ‘नेप्टोइज्म’ केही पनि नभएको बताउछन् । सेलिब्रेटी नेपालसंग कुरा गर्दै उनले भने ‘नेपोटिज्म’ र ‘नेप्टोइज्म’ केही छैन तर ग्रुपिज्म चाहिं छ ।

निर्देशक मिलन चाम्स भन्छन-‘नातावाद र कृपावाद भनेको जता पनि हुने गर्छ, तर नेपालमा अहिले ज जसले यो कुरा उठाउनु भएको छ उहाँहरु सहि हुनु हुन्छ, ज जसले बिरोध गर्नु भएको छ उहाँहरु पनि सहि हुनु हुन्छ तर धेरैले उडाई रहेका छन् त्यो चाहिं नराम्रो हो । टिम अप हुनु र काम गर्नु राम्रो हो तर ग्रुपिज्म गर्नु र आफ्नो मात्र राम्रो सोच्नु र अरुको नराम्रो सोच्नु चाहिं नराम्रो हो। यहाँ अरुको बिरोध गर्ने र चलचित्र क्षेत्रलाई ध्वस्त पार्न खोज्ने तत्वहरु पनि छन् त्यो चाहिं घातक हो। अबको विषम परिस्थितिमा सम्पूर्ण चलचित्र कर्मी मिलेर नेपाली चलचित्र क्षेत्रलाइ उठाउनु पर्छ ।’