‘हजुरआमाको प्रेरणाले फिल्म खेलेको हुँ’: मनिषा कोइराला



काठमाडौँ। एक समय बलिउडमा राज गरेकी नेपाली चेली मनिषा कोइराला भारतको बनारसमै हुर्किन्, बढिन् । उनी हजुरआमा सुशीला (बीपी कोइरालाकी पत्नी) कोे काखमा खेलेर हुर्किन् । सुशीला फिल्मको निकै सौखिन थिइन् ।

योहो टेलिभिजनको कार्यक्रम ‘सत्य संवाद’मा जीवराम भण्डारीसँग कुरा गर्दै मनिषाले फिल्म क्षेत्रमा प्रवेश गर्न हजुरआमाको त्यो सौख पनि प्रेरणा भएको बताइन् ।

‘आमा (सुष्मा कोइराला) सँग फिल्म क्षेत्रमा जान अनुमति माग्दा उहाँले भन्नुभयो’, उनले ती दिनको सम्झना गरिन्, ‘तिमी जुनसुकै क्षेत्रमा जाऊ, त्यो क्षेत्रमा आफूलाई सर्वश्रेष्ठ प्रमाणित गर । चाहे त्यो बगैँचाको माली नै किन नहोस् ।’ आमाको त्यो कुरालाई ध्यान दिएरै फिल्म क्षेत्रमा गएको मनिषाले बताइन् । फिल्म क्षेत्रमा उनले पछाडि फर्केर हेर्नुपरेन ।

सानो हुँदा उनी डाक्टर बन्न चाहन्थिन् । कोइराला परिवारमा डाक्टर, इन्जिनियर र राजनीतिज्ञ मात्र थिए । ‘त्यसैले मैले पनि त्यही क्षेत्रकै बारेमा सोचेकी थिएँ’, उनले भनिन्, ‘तर म डाक्टर बनेको भए यति सफल हुन्नँथे होला ।’

‘राजनीतिमा कहिले प्रवेश गर्ने’ ‘कुन पार्टीमा लाग्ने’ प्रस्तोता भण्डारीको प्रश्नको जवाफमा मनिषाले राजनीतिक दलभन्दा ठूलो मुलुक भएको बताइन् । ‘त्यसैले जुन पार्टीले राम्रो काम गर्छ । त्यसलाई सहयोग गर्छु,’ उनले भनिन् । आफ्नो पारिवारिक राजनीतिक पृष्ठभूमि जे भए पनि आफू भने तटस्थ रहेको उनले बताइन् । ‘जुन पार्टीमा लागे पनि उद्देश्य मुलुक र जनताकै लागि काम गर्ने हो’, उनले भनिन् ।

मनिषाले कांग्रेस बीपीले देखाएको बाटोमा नहिँड्दा यस्तो स्थिति आएको बताइन् । ‘बीपीको बाटो बिर्सेर अर्को बाटोमा लाग्दा यस्तो स्थिति आएको हो कि उनी भन्छिन् ।

उनले देशको लागि राम्रो गर्ने जोकोहीलाई समर्थन गर्ने बताइन् । ‘मलाई नेपालका कुनै पार्टीप्रति विशेष झुकाव छैन’ उनले भनिन्, ‘देशलाई राम्रो गरेको छ भने कम्युनिष्ट, कांग्रेस, राजावादी सबैलाई समर्थन छ ।’

कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा सामाजिक सञ्जालमा दिएको प्रतिक्रियापछि उत्पन्न परिस्थितिमा आफू कसरी मुम्बईबाट काठमाडौँ आइपुगेको पनि सुनाइन् । त्यतिवेला भारतीय मिडियाले गरेको प्रहारका कारण निकै दुःखी भएँ’, उनले सुनाइन् ।